सिमीगाउँमा राष्ट्रिय प्रसारण लाइन

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ७
दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ९ स्थित सिमीगाउँमा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको छ । सिमीगाउँमा पहिलो पटक विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भई बत्ती बल्न थालेसँगै गाउँलेमा खुशी छाएको छ । जिल्लाको पर्यटकीय स्थल च्छेरोल्पा हिमताल जाने प्रवेशद्धार सिमीगाउँको ७१ घरधुरीमा बत्ती बलेको नेपाल विद्युत प्राधिकारण दोलखा वितरण केन्द्र दोलखाका प्रमुख मेघनाथ ढकालले बताउनुभयो । गंगोरबाट करिब तीन किलोमिटर पर रहेको गाउँमा धेरै समयको प्रयासपछि राष्ट्रिय प्रसारण लाइनको बत्ती बल्न थालेको हो । “तामाकोशी जलविद्युत आयोजना नजिकै रहेर पनि बत्ती मुनिको अँध्यारो भने झैँ राष्ट्रिय प्रसारण लाइन नपुगेको सिमीगाउँमा अहिले लाइन पुगेको छ ।” प्रमुख मेघनाथ ढकालले सुनाउनुभयो “यस अघि साना जलविद्युत आयोजनाबाट बत्ती बलिरहेको सिमीगाउँका नागरिकले अहिले नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्ती बाल्न पाएका छन् । यसले उनीहरुमा खुशी छाएको छ ।” सडक सञ्जालले नछोएको सिमीगाउँमा प्रसारण लाइन जडान भई ७१ घरधुरीले मिटरबक्स लगि बत्ती बाल्न थालेका छन्, बाँकी रहेका ५० घरधुरीले मिटर बक्सका लागि निवेदन दिएका छन् । सोको जडान पछि ती घरधुरीले समेत राष्ट्रिय प्रसारण लाइनको बत्ती बालिने केन्द्रका प्रमुख मेघनाथ ढकालले सुनाउनुभयो । उहाँका अनुसार सिमीगाउँमा केहीवर्ष अघि नै राष्ट्रिय प्रसारण लाइन जडान गरिएको भएपनि केही प्राविधिक समस्याका कारण विद्युत प्रवाह गरिएको थिएन । सो गाउँमा साना जलविद्युत आयोजनाको बिजुली बलिरहेको थियो ।

Shares

Be the first to comment on "सिमीगाउँमा राष्ट्रिय प्रसारण लाइन"

Leave a comment

Your email address will not be published.


*