एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन सिंगापुर पुगेका छन् । विमानस्थलमा उनको स्वागतका लागि सिंगापुरका विदेशमन्त्री भिभियन बालक्रिस्नन उपस्थित रहेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । उनीहरु एकअर्कासँग हात मिलाइरहेको तस्बिर भिभियन आफैँले ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन् ।
किमको आगमनको तयारीमा सिंगापुरका प्रमुख सडकमा सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ भने विमानस्थल वरपरको क्षेत्रमा पनि बिहानैदेखि कडा सुरक्षा व्यवस्था रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उता, उत्तर कोरियाबाट आएका सञ्चारकर्मीहरु पनि किमले यात्रा गर्ने सडकमा उनको तस्बिर लिन लामो समय अगाडिदेखि नै तयारी अवस्थामा बसिरहेको बताइएको छ । अन्तराष्ट्रिय सञ्चारकर्मीहरुलाई भने निश्चित सीमाभन्दा बाहिर तस्बिर खिच्न निषेध गरिएको बताइएको छ ।
त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि क्यानडाको जी–सेभेन सम्मेलनपछि आजै बेलुका सिंगापुरका लागि प्रस्थान गर्ने बताइएको छ । आजै बेलुका उनले सिंगापुरका प्रधानमन्त्री लि हिस्न लुङसँग भेटवार्ता गर्ने तय भएको छ ।
किम र ट्रम्पबीच सिंगापुरमा १२ जुन (पर्सी) वार्ता हुँदैछ ।
Be the first to comment on "सिंगापुर पुगे उत्तर कोरियाली नेता किम, ट्रम्प पनि आजै पुग्ने"