सिंगटी सडकमा स्थानीयको अवरोध

इश्वर बिश्वकर्मा
चरिकोट, मंसिर १२
दोलखा–सिंगटी सडक खण्ड अन्तर्गत सिंगटी क्षेत्रको सडक मर्मत र व्यस्थित हुनुपर्ने माग गर्दै संघर्षरत सिंगटीका वासिन्दाले आइतबार सडक अवरोध गरेका छन् । सडक कालोपत्रे गर्ने कार्य गुणस्तरहीन भएको तथा निर्माणको बाँकी काम ठेकेदारले अलपत्र पारेको र सरकारी पक्ष मुकदर्शक बनेको भन्दै नागरिक समाजको अगुवाईमा सडक अवरोध गरिएको हो । स्थानीयले कालिञ्चोक गाउँपालिका क्षेत्रको सिंगटी बजारको मुख्यचोकमा मुढा, जस्तापाता त्रेस्याएर सडक अवरोध गरी सार्वजनिक गाडी, ट्रिपरट्रक लगायतका यातायातका साधन छिर्न दिएका छैनन् । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन सञ्चालनमा भने कुनैे अवरोध नगरिएको नागरिक समाजका संयोजक कृष्णबहादुर उप्रेतीले बताउनुभयो ।
सडक क्षेत्र भित्रको धुलो हटाउने, ढल निकास, कालोपत्र गर्ने बाँकी काम तथा सडकको मापदण्ड अनुसारको बाँकी सम्पूर्ण काम सम्पन्न गर्नका लागि पहल गर्नुपर्ने माग गर्दै उत्तरी क्षेत्रको नागरिक समाजले जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय सहित सरोकारवाला निकायमा मंसिर ४ गते ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा सात दिन भित्र माग पूरा हुने गरी सडकको काम सुरु नगरे सिंगटीबाट संचालन हुने तथा आवत जावत गर्ने सम्पूर्ण यातायातका साधानहरु पूर्णरुपमा बन्द गर्ने चेतावनी दिइएको थियो । तर माग पूरा गर्न सरोकारवाला निकायले चासो नदेखाएपछि बाध्य भएर पूर्वघोषित संघर्षको कार्यक्रम गर्नुपरेको समाजका संयोजक उप्रेतीले बताउनुभयो । यस बाट पर्नजाने असर सम्बन्धित पक्ष आफैले ब्यहोनुपर्ने उहाँले सुनाउनुभयो ।

सडक अवरोधका कारण यातायातका साधन सञ्चालन ठप्प भएपछि जिल्ला प्रशासन कार्यालयले छलफल गर्ने भनी जानकारी आएको बताउनुहुँदै उहाँले छलफलपछि माग पूरा हुने गरी काम सुरु गरेमा आन्दोलनका कार्यक्रमलाई विश्राम दिने उहाँले बताउनुभयो । स्वच्छन्द निर्माण सेवाले जिम्मेवारी पाएको दोलखा–सिंगटी सडक निर्माणमा कम्पनी र ठेकेदारले चरम लापरबाही गरेको छ । सडकको कालोपत्रे गर्ने कार्य गुणस्तरहीन र वातावरणमैत्री तथा बालमैत्री नभएकोले सिंगटी क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई समस्या भएको छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी बर्षामा अत्याधिक हिलो हुने र हिउँदमा अत्याधिक धुलो उड्ने, ढल निकास पूर्ण रुपमा बन्द भएकोले सास्ती खेप्न बाध्य नागरिकहरु आक्रोषित भई आन्दोलनमा उत्रिएको सिंगटीका व्यावसायी नविन श्रेष्ठले बताउनुभयो । सिंगटीमा सडक अवरोध गरी नागरिकहरु सडक आन्दोलनमा उत्रिएपछि इलाका प्रहरी कार्यालय सिंगटीबाट प्रहरी टोली खटिएको छ ।

Shares

Be the first to comment on "सिंगटी सडकमा स्थानीयको अवरोध"

Leave a comment

Your email address will not be published.


*