सिंगटी बजारमा दुई वटा पार्किङ स्थल निर्धारण

दीक्षण समाचार
चरिकोट, पुस १९
दोलखाको उत्तरी क्षेत्रको मुख्य व्यापारिक केन्द्र सिंगटीमा सवारीसाधन पार्किङ स्थलको व्यवस्था गरिएको छ । सवारीसाधनको जथाभावी पार्किङले बजारमा बढेको समस्यालाई मध्यनजर गर्दै विगु गाउँपालिकाले सिंंगटी बजारको दुई स्थानमा पार्किङ गर्ने व्यवस्था मिलाएको हो ।
गाउँपालिका अध्यक्ष सञ्जिव ओलीले अर्काे व्यवस्था नभएसम्मका लागि स्थान निर्धारण गरी सवारीसाधनहरु अस्थायी रुपमा पार्किङ गर्न मिल्ने व्यवस्था गरिएको बताउनु भयो । सिंगटी बजारलाई सभ्य र व्यवस्थित बजारको रुपमा विकास गर्ने उद्धेश्य सहित अस्थायी भएपनि पार्किङ स्थलको व्यवस्थापन गरिएको उहाँको भनाई छ ।
बढ्दो सवारी चापमा पार्किङको समस्याले दुर्घटनाको जोखिम बढेको बताउँदै पार्किङलाई व्यवस्थित बनाई जोखिम न्यूनीकरण गर्ने उद्धेश्य रहेको अध्यक्ष ओलीले बताउनु भयो । उहाँका अनुसार सिंगटी हेलिप्याड मैदान र खोलिखिम खेलमैदान आसपासमा अस्थायी पार्किङमा सवारी साधन राख्न सकिने छ । हेलिप्याड मैदानमा बोलेरो, सुमो ट्याक्टर लगायतका सवारी सधानहरु र खेलमैदानमा बस, ट्रक, ट्रिपर लगायत ठूला साधनहरु पार्किङ गर्ने व्यवस्था मिलाएको हो ।
उचित स्थानको अभावमा सवारीसाधनहरु अव्यवस्थित रुपमा पार्किङ हुँदा दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा समेत जटिलता भईरहेको थियो । अस्थायी भएपनि पार्किङ स्थलको व्यवस्था गरिएपछि जथाभावी पार्किङ समस्या हट्ने विश्वास लिइएको अध्यक्ष ओलीको भनाई छ ।
बजारलाई सुन्दर र व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनु भयो । जथाभावी पार्किङ गर्ने, सडक तथा सार्वजनिक स्थानमा व्यापार व्यवसाय गर्ने कार्य बन्द गर्न र नियम विपरित सडक तथा सार्वजनिक स्थान मिचेर बनाईएको घरटहरा तत्काल हटाउन सम्बन्धित सबैलाई उहाँले अनुरोध गर्नु भयो । उहाँले बजार व्यवस्थापन सम्बन्धमा सार्वजनिक सूचना समेत जारी गर्नु भएको छ ।

Shares

Be the first to comment on "सिंगटी बजारमा दुई वटा पार्किङ स्थल निर्धारण"

Leave a comment

Your email address will not be published.


*