चरिकोट (दीस): विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ।
विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाद्वारा स्थापना गरिएको यो पुरस्कार मंगलवार शर्मालाई प्रदान गरिएको हो। दश हजार रुपैयाँ राशी तथा सम्मानपत्रसहित शर्मालाई सम्मान गरिएको विष्णुलक्ष्मी साहित्य प्रतिष्ठानले जनाएको छ। समितिले वार्षिक रूपमा कला, साहित्य, र संस्कृतिको क्षेत्रमा कलम चलाउने एक जना स्रष्टालाई पुरस्कृत गर्दै आएको छ।
समितिका संरक्षक चिरञ्जीवी मास्केका अनुसार २०६७ सालदेखि निरन्तर रूपमा नगदसहित पुरस्कृत गरिँदै आएको यो पुरस्कार यस वर्ष उपन्यास, नाटक, कथा, र कविताका क्षेत्रमा योगदान पुर्याएकी साहित्यकार शर्मालाई प्रदान गरिएको हो। मास्केले आफ्ना जन्म दिने र कर्म दिने दुबै आमाहरूको नाममा यो साहित्यिक पुरस्कार स्थापना गर्नु भएको हो ।
सोहि अवसरमा बार्षिक रुपमा प्रकाशन हुने साहित्यिक पत्रिका प्रदेयको नयाँ अङ्क समेत सार्वजनिक गरिएको छ । यो बर्षको प्रदेयमा बिभिन्न ५५ जना साहित्यकारहरुले लेख रचना गर्नु भएको छ।
पुरस्कार वितरण कार्यक्रम भीमेश्वर नगरपालिकाका प्रमुख अतिथित्व र समितिका अध्यक्ष विष्णु सुवेदीको सभापतित्वमा सम्पन्न भयो। कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर, नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण वस्नेत, भानु विद्यापति साहित्यिक प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिव सुजन काफ्ले, पूर्व अध्यक्ष दीपशङ्कर चौलागाईँ, र सम्मानित साहित्यकार सुशिला शर्मा लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
Be the first to comment on "साहित्यकार शुशिला शर्मा ‘विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१’ बाट सम्मानित"