पुरानै प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण !

इश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २५
दोलखाको सबै स्थानीय तहमा बैँक पुगेपनि जिल्लाका ६ वटा स्थानीय तहले अझैपनि पुरानै प्रणाली अर्थात् वडामार्फत सामाजिक सुरक्षा भत्ताको रकम वितरण गरिरहेका छन् । कर्मचारी वा अन्य व्यक्तिबाटै सामाजिक सुरक्षा भत्ता अनियमिता तथा चुहावट हुने गरेको गुनासो बढेपछि नेपाल सरकारले भत्ता वितरणमा बैंकिङ प्रणालीको नीति लिएको छ । तर दोलखाका ६ वटा पालिकाले भने सरकारको नीति र निर्देशनको वेवास्ता गर्दै आएका छन् । मेलुङ, गौरीशंकर, विगु, कालिन्चोक, शैलुङ, तामाकोशी गाउँपालिकामा बैँकको पहुँच पुगेपनि यी पालिकाहरुले बैँकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेका छैनन् ।
जिल्लाको दक्षिणी क्षेत्रको मेलुङ गाउँपालिकाले भत्ता वितरणका लागि २ वटा बैँकसँग सम्झौता गरेपनि अझैपनि बैँकमार्फत् भत्ता वितरण गर्न सुरुवात गरेको छ्रैन् । पालिकाले वडा नं. १ को लागि नेपाल बैँक चरिकोट, वडा नं. २ देखि ६ का लागि सानिमा बैँकसँग सम्झौता गरेको थियो । तर वडा नं. ७ को लागि एनएनबी बैँकले सम्झौता गर्न नमानेपछि बैँकमार्फत् भत्ता वितरणको योजना सफल हुन सकेन । यद्यपी वडा नं. ७ को लागि पनि नेपाल बैँक चरिकोटसँगै सम्झौता गरी आगामी साउनबाट पहिलो चौमासिक भत्ता वितरण गरिने पालिकाका सूचना अधिकारी सन्तोष पौड्यालले बताए । उनका अनुसार पालिकामा हाल २ हजार ६ सय ४३ जना भत्ता प्राप्त गर्ने लाभग्राही रहेका छन् ।
त्यस्तै शैलुङ गाउँपालिकाले पनि सामाजिक सुरक्षा भत्ता वडामार्फत नै वितरण गरिरहेको छ । पालिकाका सूचना अधिकारी ठमिर प्रसाद घिमिरेका अनुसार पालिकाभित्र मेघा बैँक रहेको र उक्त बैँकसँग सम्झौताको लागि छलफल भईरहेको र केही दिनमैँ सम्झौता हुने बताए । गौरीशंकर गाउँपालिकाको कार्यालय भवनमैँ भाडामा हिमालयन बैँक रहेको सञ्चालित छ । तर पालिकाले सामाजिक सुरक्षा भत्ता वडामार्फत नै वितरण गर्दै आएको छ । पालिकामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको संख्याका २६ सय २२ जना रहेको एमआइएस अपरेटर शिवराज बिश्वकर्माले जानकारी दिए । त्यस्तै तामाकोशी गाउँपालिका, विगु गाउँपालिका र कालिन्चोक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामार्फत् वितरण गरिरहेको छ । जसले गर्दा सामाजिक सुरक्षा भत्ता वितरण अनियमितता तथा आर्थिक हिनामिना हुने गरेको बेलाबेलामा स्थानीयहरुले गुनासो गर्ने गरेका छन् । यी ६ वटै पालिकाहरुले आगामी साउनबाट बैँकिङ प्रणालीमार्फत् भत्ता वितरण गर्ने जनाएका छन् ।

३ पालिकामा बैँकमार्फत भत्ता वितरण
बैतेश्वर गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७÷०७८ को दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणाली मार्फत वितरण सुरु गरेको छ । सरकारको नीतिलाई आत्मसाथ गर्दै पालिकाले बैँकिङ प्रणाली मार्फत चैत्र १३ गतेबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको पालिकाका एम.आइ.एस अपरेटर दिल बहादुर श्रेष्ठले बताए । उनका अनुसार वडा नम्बर एक देखि आठ सम्मका लाभग्राहिहरुले पालिकामा रहेको प्राइम कर्मसियल बैँक मार्फत भत्ता प्राप्त गर्ने छन् । पुर्ण अपाङ्गता भएका र हिँड्डुल गर्न नसक्ने बृद्धाबृद्धहरुको हकमा भने सम्बन्धित वडा कार्यालय मार्फत् भत्ता वितरण गरिने व्यवस्था मिलाइएको र वडा कार्यालयमा पनि उनिहरु आउन सम्भव नभएमा बैँकका कर्मचारीले घरमैँ गएर भत्ता प्रदान गर्ने छन् । पालिकामा हालसम्म २६ सय ३ जना सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राही रहेका छन् । एम.आइ.एस अपरेटर श्रेष्ठका अनुसार ७० वर्ष भन्दा माथीका १ हजार ५ सय २६ जना, ६० वर्ष भन्दा माथीका २ सय २ जना दलित जेष्ठनागरिक, २ सय ५० जना जेष्ठ एकल महिला, ३ सय १२ जना विधवा आर्थिक सहायता लिने, ३ सय ४९ जना क वर्गका अपाङ्गता भएका व्यक्ति, ८५ जना ख वर्गका अपाङ्गता भएका व्यक्ति र २ सय ७९ जना दलित बालबालिका लाभग्राही रहेका छन् ।
जिल्लाको जिरी नगरपालिकाले २०७७ साल साउन देखि बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरेको थियो । जहाँ सेन्चुरी कमर्सियल र प्राइम कमर्सियल बैँकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण हुने गरेको छ । बैँक सम्म आउन नसक्नेहरुले उनिहरुको मञ्जुरीमा तोकेको व्यक्तिलाई बैँकबाट भत्ता उपलब्ध गराइने गरिएको पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख विमल कुमार दहालले बताए । यता जिल्लाको भीमेश्वर नगरपालिकाले २०६३ सालबाट सामाजिक सुरक्षा भत्ता बैँकिङ प्रणालीबाट दिदैँ आएको थियो । स्थानीय तहको निर्वाचन पश्चात २०७५ सालबाट ३ वटा बैँकमार्फत् सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । नगरपालिकाले वडा नं. ५, ६ र ७ का लाभग्राहीलाई लक्ष्मी बैँक, वडा नं. १, २ र ८ कालाई प्रभु बैँक र वडा नं. ३ र ४ र ९ का लाभग्राहीलाई मेघा बैँकबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरिएको छ । बैँक मार्फत भत्ता लिन आउन नसक्नेको हकमा बैँकका कर्मचारीहरु वडामैँ पुगी भत्ता वितरण गर्ने गरेका छन् । हाल पालिकामा समाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको संख्या ३ हजार ३ सय १२ जना रहेको नगरपालिकाले जनाएको छ । सामाजिक सुरक्षा भत्ता बैँक मार्फत भूक्तानी गर्दा दोहोरो सेवा सुविधा लिने, अर्काको भत्ता बुुझ्ने, लाभग्राही दोहोरिने, रकम हिनामिना हुने समस्या अन्त्य भएको पालिकाहरुको दाबी रहेको छ । ६० वर्ष माथिका दलित, ७० वर्षमाथिका सबै, एकल महिला, ५ वर्ष मुनिका दलित बालबालिका र पूर्ण अपाङ्गता भएकाहरुलाई सामाजिक सुरक्षा रकम प्राप्त गर्दछन् ।

Shares

Be the first to comment on "पुरानै प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण !"

Leave a comment

Your email address will not be published.


*