निसा बस्नेत
साईली दिदीलाई
हरेक बर्ष तीजको
रौनक देखिएन
मुहारमा चमक देखिएन
देखिन्थ्यो त केवल चिन्ता
गाई गोठ, कुडो, घाँसको
बाल बच्चालाई खुवाउने गाँसको
रात भरि पानी चुहिने बासको
अनिदोमा बिहानीको आसको
उनका लागि
दिन र रातमा कुनै रहन्न भिन्न
कहाँ पाउनु चौरासी ब्यन्जन
छाक टार्न हुँदैनथ्यो अरे अन्न
धेरै टाढा थियोरे
माईतीको घर
माईत जान्छु
भन्न सासुलाई
लाग्थ्यो रे डर
खेले हुर्केको माईतीको आँगन
हुँदै थियो बिरानो शहर
साईली दिदीलाई
कस्ले दिन्थ्यो र तिजको दर
मन रुन्थ्यो रे
आमा,दिदी बहिनी
संझेर माइतीको घर
छिया,छिया मुटु हुन्थ्यो रे
आफ्नो हालत देखेर
पुजा, जात्रा, मेला जे होस्
फुर्सदिलो हो त्यै दिन
नयाँ सारी, गहना रहर मात्र हो
हात भरि चुरा भर्न
कतै बाट मिल्दैनथ्यो रे रिन
साईली दिदीलाई
असाध्यै रहर थियो रे पढ्नलाई
हटाई अन्धकार अघि बढ्नलाई
अफ्ठेरा सिडीहरु चड्नलाई
अन्यायको बिरोधमा लड्नलाई
त्यसैले त
सबैलाई अर्ति उपदेश
दिनु हुन्छ
छोरीलाई पढाउनु पर्छ भन्नु हुन्छ
यति धेरै रहरहरु को
श्रध्दाञ्जली दिएर पनि
खुशी देखिनु हुन्छ
साईली दिदी
आजको यो समयमा
साईली दिदीले जस्तो
दु: ख भोग्नु पर्दैन
चुलो,चौको मात्र गर्नु पर्दैन
घाँस,दाउरा,भकारो मात्र सोर्नु पर्दैन
धेरै अवसरहरु पाएका छौ
अघि बढ्नलाई
शिक्षा जस्तो पवित्र पेसा
सम्हाल्ने जिम्मा पाएका छौँ
ज्ञानको भण्डार भर्नलाई
त्यसैले
अब फेरि, कही कतै कसैले सुन्नु नपरोस्
साईली दिदीको जस्तै,
कथा र ब्यथा !!
Be the first to comment on "साईली दिदीको कथा"