दीक्षण समाचार
चरिकोट, भदौ ७
दोलखाको सदरमुकाम चरिकोटमा मुख्य कार्यालय रहेको मिलीजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहयोगमा सिंगटीमा आयोजित कार्यक्रममा सहकारीकर्मी सहित ४३ जनाले रक्तदान गरेको सहकारीका व्यवस्थापक ईश्वर न्यौपानेले जानकारी दिनुभयो । सहकारीको स्थापना दिवसको अवसरमा सम्मान गरिने व्यक्ति तथा संस्थाहरुको नाम समेत घोषणा तथा सार्वजनिक गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम गर्ने आयोजक र रक्तदातालाई धन्यवाद व्यक्त गर्नुभयो । शल्यक्रिया गर्नुपर्ने बिरामी र सुत्केरीका लागि रगतको खाँचो पर्छ । रगत नपाए उनीहरूको ज्यानै खतरामा पर्छ । यस्तो अवस्थामा रगत दान गरी खतराबाट बचाउने रक्तदातालाई बिरामीले भगवान मान्छन् । त्यसैले रक्तदाता बन्न उहाँले आग्रह गर्नुभयो । रक्तदान कार्यक्रममा मात्र नभई अरु बेला पनि रक्तदान गर्न चाहने योग्य व्यक्तिले रेडक्रस वा रक्तसञ्चार केन्द्र चरिकोटमा सम्पर्क गर्न सकिने उहाँले बताउनुभयो । एक मानिसको रगत दानबाट अर्को मानिसको ज्यान बचाउन सकिने भएकोले रक्तदानमा अग्रसर हुन उहाँले अनुरोध गर्नुभयो ।
Be the first to comment on "सहकारीको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम"