दीक्षण समाचार
चरीकोट, चैत्र १
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको अभिभावक बन्नुपर्ने सरकार शासक बन्न खोजेको आरोप लगाउनुभएको छ । मंगलबार नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाद्धारा चरीकोटमा आयोजित अनुसन्धानमूलक पत्रकारिता र फिचर लेखन तालिमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो “अभिभावकको रुपमा प्रस्तुत हुनुपर्ने राज्य पत्रकार माथी कानून बनाएर शासकको रुपमा प्रस्तुत हुन खोजेको छ । त्यस्तो अवस्थाको अन्त्य हुनुपर्छ । केही पत्रकारको गल्ति र कमजोरीका कारण राज्य कानून बनाएर शासक बन्न खोज्नु उचित होइन ।” उहाँले पत्रकारको हक अधिकारको संरक्षण गर्नुपर्ने सरकार उदासिन बन्न खोजेको बताउनु भएको छ। उहाँले भन्नुभयो“ पत्रकारहरुलाई प्रशिक्षित गराउनु र क्षमता अभिबृद्धिमा सहयोग गर्नुभन्दा पनि कठोर कानूनद्धारा नियन्त्रण गर्ने र त्रासको वातावरण सिर्जना गर्ने, पत्रकारहरुको हक अधिकारको संरक्षणमा उदासिन हुने गरी राज्य प्रस्ततु भएको छ । यस्तो कार्य रोकिनुपर्छ ।” उहाँले राज्य उदासिन र कठोर बन्नु पत्रकारकै भूमिकाको कारण हुन सक्ने भएकोले यसमा पत्रकारहरुले समीक्षा गर्नुपर्ने अवस्था पनि रहेको बताउनुभयो । नेपालको हरेक परिवर्तनका हिस्सेदार पत्रकारहरुले थप आफूलाई अभिबृद्धि गरी मूल्य मान्यतामा आधारित भएर पत्रकारिता गरेमा राज्यले पत्रकारलाई नियन्त्रण गर्न खोज्ने अवस्था नआउने उहाँले बताउनुभयो । क्षमता अभिबृद्धिका लागि तालिमको आवश्यक रहेको महशुस गर्दै तालिम वर्ष, तालिम अभियान पत्रकार महासंघले सञ्चालन गरी रहेको छ । समाज परिवर्तनको लागि सञ्चारगृह र सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहेको छ । तर आवश्यक दक्षताको अभावमा भूमिका प्रभावकारी नहुँदा पत्रकार माथीको प्रश्न चिन्ह कडा रुपमा उठ्ने गरेको बेला पत्रकार महासंघले पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग गर्ने अध्यक्ष पोखरेलले बताउनुभयो । त्यसैगरी महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले पत्रकारिता क्षेत्रको प्रगतीको लागि कृपा दृष्टि मात्र लगाईरहेको सरकारले पूरै अभिभावकत्व ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाँले चौथो अंगको रुपमा रहेको पत्रकारिताको विकासमा बजेट विनियोजन गरी काम गर्नुपर्ने उहाँको माग थियो । पूर्वअध्यक्ष झाले पत्रकारिता पद महत्वपूर्ण होइन, भूमिका महत्वपूर्ण रहकोले भूमिकालाई प्रभावकारी बनाउन पत्रकारले आफूलाई केन्द्रीत गर्नुपर्ने सुनाउनुभयो । नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाईँले पछिल्लो वर्षहरुमा नयाँ पुस्ताको आकर्षण पत्रकारिता क्षेत्रमा देखिएपनि सीप र क्षमताको अभावमा खोजमूलक समाचार कमै मात्र सम्प्रेषण भईरहेको बेला तालिमले त्यस्ता समाचार लेखनमा सहयोग पुग्ने बताउनुभयो । बुधबारसम्म चल्ने कार्यक्रममा क्रियाशिल पत्रकार सहित २५ जनाको सहभागिता रहेको छ । मंगलबार नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले सूचना, समाचार, समाचारका प्रकार, खोजमूलक समाचारको लेखन शैली लगायतमा प्रशिक्षण दिनुभयो । भीमेश्वर नगरपालिकाको सहयोगमा सुरु भएको तालिमको उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, अकोराबका पूर्व सदस्य लक्ष्मण खड्का, निमित्त प्रमुख जिल्ला अधिकारी दीपक कोइराला, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, पत्रकार महासंघ दोलखका उपाध्यक्ष श्रृजनकुमार घिमिरे, सचिव दिल बहादुर केसी लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
Be the first to comment on "सरकार पत्रकारको शासक बन्न खोज्योः अध्यक्ष विपुल पोखरेल"