सरकारलाई गाभीले क्यान्सर विरुद्धको एचपिभी खोप उपलब्ध गराउने

काठमाडौँः सरकारलाई भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ उपलब्ध गराउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउनको अन्तिम साता गाभीसँग खोप माग गर्दै प्रस्ताव गरेकामा उक्त प्रस्ताव स्वीकार गर्दै खोप उपलब्ध गराउने भएको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले गाभीले आफूहरुले पठाएको प्रस्ताव स्वीकृत गर्दै एचपिभी खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताउनुभयो ।
महाशाखाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि खोप माग गरेको थियो । “हामीले माग गरिएको प्रस्तावलाई गाभीले स्वीकार गरेको कुरा हामीलाई प्राविधिकरुपमा जानकारी आएको छ”, उहाँले भन्नुभयो, “अब बस्ने गाभीको बोर्ड बैठकले हामीलाई खोप उपलब्ध गराउने छ ।”
गाभीसँग सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गर्नका लागि १७ लाख मात्रा ‘एचपिभी’ खोप माग गर्दै प्रस्ताव पेस गरेको थियो । खोप आएपछि अभियानका सञ्चालन गरेर किशोरीलाई खोप लगाइनेछ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ अन्तिम साता करिब १० हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ लगाएको थियो । महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरलाई बचाउने भएकाले देशभरिका किशोरीलाई एचपिभी खोप लगाउनका लागि खोप माग गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप १० देखि १४ वर्षका किशोरीलाई लगाइनेछ । उक्त उमेर समूहका किशोरी १६ लाख ५० हजार रहेका छन् । नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने तथ्याङ्क छ । विश्वमा भने महिलालाई सबैभन्दा बढी स्तन क्यान्सर हुने गरेको तथ्याङ्क छ । सन् २०२२ को तथ्याङ्कमध्ये दुई हजार दुई सय ४४ जना महिलालाई पाठेघरको मुखमा क्यान्सरमा लागेको थियो ।
उहाँले एचपिभी खोपले पाठेघरको मुखमा हुने क्यान्सरको सङ्क्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताउनुभयो । यसअघि सरकारले चितवन र कास्कीमा सन् २०१६÷०१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रुपमा सञ्चालन गरेको थियो । उहाँले भदौमा गरिएको खोप अभियानमा खोप लगाउनमा किशोरीमा उत्साह पाइएकाले अब समुदायस्तरमा गएर एचपिभी खोप लगाउने बताउनुभयो ।
क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले नेपालमा सबैभन्दा बढी महिलालाई पाठेघरको मुखमा क्यान्सर हुने गरेको बताउनुभयो । उहाँका अनुसार असुरक्षित यौनसम्पर्क, सानै उमेरमा विवाह गर्ने, धेरै चुरोट खाने महिलामा पाठेघरको मुखमा क्यान्सर लाग्ने जोखिम हुने गरेको छ । विश्वस्वास्थ्य सङ्गठनको (डब्लुएचओ) को तथ्याङ्कअनुसार हरेक दिन नेपालमा छ महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ ।(रासस)

Shares

Be the first to comment on "सरकारलाई गाभीले क्यान्सर विरुद्धको एचपिभी खोप उपलब्ध गराउने"

Leave a comment

Your email address will not be published.


*