दीक्षण समाचार
चरिकोट, पुस ४
नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रले समयमै विद्युत महसुल भुक्तानी गर्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै महसुल भुक्तानीमा विलम्ब गर्ने उपभोक्तालाई कारबाही गर्ने चेतावनी सहित समयमै महसुल भुक्तानी गर्न अनुरोध गरेको हो । केन्द्रका प्रमुख मेघनाथ ढकालले मिटर रिडिङ भएको ६० दिन भित्र महसुल भुक्तानी गर्न उपभोक्तालाई सूचना मार्फत अनुरोध गरिएको बताउनु भयो । विद्युत महसुल संकलन विनियामावली, २०७७ मा भएको व्यवस्था अनुसार ६० दिन भन्दा बढी समयसम्म विद्युत महसुल नतिर्ने उपभोक्तालाई कारबाही गरिने उहाँले बताउनु भयो । उहाँले महसुल भुक्तानीमा बिलम्ब गर्ने उपभोक्ताको विद्युत लाईन बिना सूचना बिच्छेद गरिने र महसुल भुक्तानी गराइने सम्मको कारबाही हुने बताउनु भयो । केन्द्रका प्रमुख ढकालले महशुल समयमा नतिरेको कारण २५% सम्म जरिवाना लाग्ने र काटेको लाईन जोड्दा पनि थप जरिवाना लाग्ने व्यवस्था रहेको बताउनु भयो । मिटर रिडिङ भएपछि समयमै महशुल बुझाएमा बिल रकमको केही प्रतिशत छुटको व्यवस्था रहेको छ । उक्त छुटका लागि ग्राहकले तदारुकता देखाउन आवश्यक रहेको केन्द्रका प्रमुख ढकालले बताउनु भयो । उहाँका अनुसार चरिकोट, मैनापोखरी, जफे, जिरी, सिंगटी, भैँसे, बाघखोर, खरिढुँगा युनिटबाट महशुल भुक्तानी गर्न मिल्छ, भने अनलाइनबाट पनि भुक्तानी गर्ने व्यवस्था रहेको छ । उहाँले विद्युतको अनाधिकृत प्रयोग गर्नु कानुनी भएको बताउँदै प्रशासनिक तथा कानुनी झन्झटबाट बच्न बिद्युत चोरी गर्न नहुने बताउनु भयो । यस्तै एल.पि.जि. ग्यासको तुलनामा स्वच्छ तथा सस्तो प्रमाणित भएको ईन्डक्सन चुलोको प्रयोग गर्न उहाँको आग्रह छ ।
Be the first to comment on "समयमै विद्युत महसुल भुक्तानी गर्न आग्रह"