सडकको काम छिटो सक्न पहल नगरेको भन्दै गाडीमा मन्त्री यादवको पोस्टर

इश्वर बिश्वकर्मा
चरिकोट, कार्तिक २७
मुडे–चरिकोट सडक निर्माण सुरु भएको छ वर्ष भइसक्दा पनि सम्पन्न नभएपछि दोलखावासीले शास्ती खेप्न बाध्य छन् । अलपत्र सडककै कारण निराश र रुष्ट भएका नागरिकहरुले सरोकारवाला निकायका साथै निर्माण कम्पनी र ठेकेदारलाई जिम्मेवारी अनुसारको काम छिटो सक्न दबाब दिन खबरदारी र आन्दोलनलाई जारी राखेका छन् । यहीबीच शनिबार भीमेश्वर नगरपालिका–७ मकैबारीका स्थानीयले मुडे–चरिकोट हुँदै आवातजावत गरिरहेको गाडीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवको फोटोसहितको पोस्टर सार्वजनिक गाडीमा टाँसेका छन् । सडकको काम तिव्र पार्न कुनै पहल नगरेको भन्दै मन्त्रीसहित मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ र सडक विभागका महानिर्देशक अर्जुनजँग थापाको फोटो सहितको पोस्टर गाडीमा टाँसेका हुन् । मन्त्रीको फोटो सहितको पोस्टरमा ‘ सरकार मुडे चरिकोट सडक कहिले बनाउछस्, हाम्रो विचल्ली कहिलेसम्म टुलुटुलु हेर्छस्’, भन्ने लेखिएको छ । स्थानीय दिपक तामाङका अनुसार सडक सुधार हुनुको सट्टा अलपत्र भएको र मन्त्रालयले कुनै पहल नगरेको भन्दै दबाबमुलक कार्यक्रम अन्तर्गत यस्तो गरिएको हो ।
सडक निर्माणमा ढिलासुस्ती र लापरबाही गर्ने निर्माण कम्पनी र ठेकेदार विरुद्ध यसअघि नागरिक समाजको अगुवाईमा ठेकेदारकाे फाेटाे सहितकाे पाेस्टर टाँस्ने शंख फुक्ने, मानव साङ्लो बनाउने, एक रुपैयाँ उठाएर निर्माण ठेकेदारलाई बुझाउने लगायतका दबाबमूलक काम भएको थियो । तर ठेकेदारको मनपरी र लापरबाही कायमै छ । उसले केही समय काम गरेजस्तो गरी झुक्याउने, ढाँट्ने र भाग्ने मात्र काम गरिरहेको छ । अब यो ठेकेदार र निर्माण कम्पनीको लापरबाहीको सिमा नाघिसकेको भन्दै उनीहरु फेरी आन्दोलनमा उत्रिएका हुन् । सडकको निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी सकिल हैदर–शंकरमाली—सुनौलो खिम्ती जेभीले २०७२ सालमा पाएको हो । ७९ करोडमा निर्माण सम्भौता भएको सडकको सोही वर्षदेखि काम सुरु भएको थियो । तर निर्माण कम्पनी र ठेकेदारको लापरबाहीको कारण निर्माण सम्झौता भएको छ वर्ष बित्दा पनि सडक निर्माणले गति लिएको छैन । दोलखालाई देशको राजधानी काठमाडौँसँग जोड्ने खाडीचौर चरिकोट सडकखण्ड अन्तर्गतको दोलखा क्षेत्रमा पर्ने ३० किलोमिटर मुडे–चरिकोट सडकखण्ड ठेकेदारको लापरबाहीको कारण वर्षाैँदेखि अलपत्र छ ।

तस्बिर साैजन्य पत्रकार गाेकर्ण भण्डारी

Shares

Be the first to comment on "सडकको काम छिटो सक्न पहल नगरेको भन्दै गाडीमा मन्त्री यादवको पोस्टर"

Leave a comment

Your email address will not be published.


*