सञ्चालित गतिविधिको प्रभाव खोज्दै हुराडेक

चरिकोट–विगत २६ बर्ष देखी दोलखाका क्रियासिल नागरिक समाजको संस्था मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाको सामाजिक परिक्षण कार्यक्रम बिहिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । हुराडेक नेपालले गत आर्थिक बर्ष २०७४÷०७५ मा सञ्चालन गरेको विभिन्न कार्यक्रम तथा गतविधिले पारेको प्रभाव र ल्याएको परिवर्तनका बारेमा लाभग्राही र सरोकारवाला निकायलाई जानकारी गराउँने उद्धेश्यका साथ सामाजिक परिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

स्थानीय निकाय सामाजिक कार्यविधि २०६७ अनुसार प्रक्रिया पुरा गरी आयोजित सामाजिक परिक्षणमा काठमाण्डौं स्थित मित्र समाजले स्वतन्त्रपुर्वक हुराडेक नेपालले सञ्चालन गरेको गतिविधि र त्यसको प्रभाव र हुराडेक नेपाल दोलखाका विद्यमान नीति नियम र आर्थिक पक्ष, खर्च प्रणाली समेतको समग्र अध्ययन गरी कार्यक्रममा प्रस्तुत गरेको थियो । अध्ययन प्रतिवेदन प्रस्तुति गर्दै मित्र समाजका क्षमता विकास विज्ञ कर्णबहादुर नेपालीले हुराडेक नेपाल दोलखाले गत आर्थिक बर्षमा विभिन्न साझेदार निकाय सँगको सहकार्यमा सञ्चालित सात वटा परियोजना मार्फत छ करोड, एक लाख, ९ हजार रुपैयाँ खर्च भएको र जसबाट दोलखा सहित रामेछाप र सिन्धुली जिल्लाका करिव १४ हजार भन्दा बढीलाई फाइदा पुगेको सरोकारवालाहरुलाई जानकारी गराए । सो अवसरमा उनले हुराडेक नेपाल दोलखाको कार्यक्रम सञ्चालित क्षेत्रमा गरिएको स्थलगत छलफल र सरोकारवाला सँग गरिएको छलफलबाट प्राप्त भएको नतिजाको बारेमा जानकारी गराउदै हुराडेकबाट सञ्चालित गतिविधिले लक्षित समुदाय संतुष्ट रहेको बताए ।

कार्यक्रममा सरोकारवालाहरुले राखेको जिज्ञासाको उत्तर दिनु हुदै हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठकले संस्थाले आन्तरिक सुशासन र सञ्चालित कार्यक्रमहरुको पारदर्र्शीताको लागि अधिकत पहल गर्दै आएको वताए । सो अवसरमा अध्यक्ष पाठकले हुराडेक नेपालले स्थानीय सरकार सँग समन्वय गरी आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको र संस्थाले २१ भन्दा बढी निति तय गरी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताए । साथै हुराडेक नेपाल दोलखाले सामाजिक परिक्षण कार्यक्रमलाई बार्षिक रुपमा निरन्तरता दिने समेत उनले बताए ।

सामाजिक परिक्षण कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोलखाका गैह्र सरकारी संस्था मध्य हुराडेक नेपालले पहिलो पटक सम्पुर्ण प्रक्रिया पुरा गरी सार्वजनिक परिक्षण गरेको वताउदै अन्य गैह्र सहकारी संघ संस्थाहरुले पनि सुशासनका औजारको प्रयोग गरी पारदर्शीता अपनाउँनु पर्नेमा जोड दिए । सो अवसरमा बोल्दै पाण्डेले गैह्र सरकारी संस्थाहरु राज्यका प्रतिस्पर्धी नभई राज्यको सहयोगी भएकाले सोही अनुसारको भुमिका निर्वाह गर्नु पर्ने बताए । दोलखा जिल्लामा क्रियासिल गैह्र सरकारी संस्थाहरुले स्थानीय तह सँग मिलेर आफ्ना गतिविधि सञ्चालन गर्न उनले आग्रह गरे ।

कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले सामाजिक परिक्षण कार्यक्रम माफर्त हुराडेक नेपालले खर्चको उपयोगिता र प्रभाव समेत मुल्यांकन भएको बताउदै सुशासनका औजारहरुको प्रयोग गरी गैह्र सरकारी संस्थाहरुलाई पारदर्शी बन्न आग्रह गरे । दर्ता भएर पनि तीन बर्ष सम्म नविकरण नहुने गैससहरुलाई नविकरण नगर्ने नीति सरकारले ल्याउन लागेको प्रमुख जिल्ला अधिकारी पाठकले गैह्र सरकारी संघ संस्थाहरुको बर्गीकरण हुनु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा, गैह्रसरकारी संस्था महासंघ दोलखाका उपाध्यक्ष राजु थापा, ट्रान्सपरेन्सी इन्टरनेश्नल नेपाल दोलखाकी रत्ना तामाङ, सामुदायीक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेत लगाएतले हुराडेकद्धारा सञ्चालित गतिविधिको बारेमा आफ्नो धारण व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "सञ्चालित गतिविधिको प्रभाव खोज्दै हुराडेक"

Leave a comment

Your email address will not be published.


*