दीक्षण समचार
चरिकोट, कार्तिक १३
दोलखामा हाई अल्टिच्युड रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद् वाग्मती र नेपाल रिङ रेस्लिङ एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा हेभी वेट च्याम्पियन चट्टान बन्नुभयो । उहाँलाई नगद एक लाख ५० हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरियो ।
त्यसैगरी हार्डकोर च्याम्पियन दयूव, मिडल वेट च्याम्पियन डेभिड, ट्याग टिम च्याम्पियन थागु र एक्स हिरो, लाईट वेट च्याम्पियन सिजेवर, रोयल ब्याटल च्याम्पियन साइन बन्नुभयो । च्याम्पियन हुन सफल खेलाडीहरुलाई क्रमशः एक लाख २० हजार रुपैयाँ, ८५ हजार, ७५ हजार, ५० हजार र ४५ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो । च्याम्पियनहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), पूर्व पर्यटन मन्त्री आनन्द पोखरेल, सांसद विशाल खड्का र परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले पुरस्कार वितरण गर्नुभएको हो ।
प्रतियोगिताको उद्धघाटन समारोहमा मन्त्री गहतराजले मन्त्री बनेपछि पहिलोपटक औपचारिक कार्यक्रमका सहभागी हुन दोलखा आएको बताउनुहुँदै खेलकुदका लागि दोलखा ठूलो सम्भावना भएको जिल्ला भएको बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने संकल्प पूरा गर्न स्थानीय सरकार र प्रदेश सरकारले पनि प्राथमिकता दिएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रिय स्तरको रेस्लिङ प्रतियोगिता भएपछि दोलखा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनिन सफल भएको र यो अवसरलाई भरपूर सदुपयोग गरिनुपर्ने बताउनुभयो । उहाँले आफ्नो पहिलो भ्रमणबाट दोलखा खेलका लागि ठूलो सम्भावना बोकेको आफूले देखेको बताउनुहुँदै उहाँले दोस्रो पटक आउँदा योजनाका साथ आउने सोच बनाएको बताउनुभयो । खेल मनोरञ्जनका लागि मात्र नभई पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएकोले खेल गतिविधि चलायमान हुनुपर्ने बताउनुभयो ।
विश्वभर रेस्लिङ खेलको लोकप्रियता बढीरहेको बेला दोलखामा पनि यस खेलको विकास र विस्तार गर्न तथा सुस्ताएको पर्यटन उकास्न गरिएको प्रतियोगिताको सहआयोजना भीमेश्वर नगरपालिका र व्यवस्थापन जिल्ला खेलकुद विकास समितिले गरेको थियो ।
Be the first to comment on "सकियो रेस्लिङः चट्टान हेभी वेट च्याम्पियन"