श्रीमानले परिवारको सहमति विना कर्जा लिए पछि परिवारको बिचल्ली

चरिकोट (दीस) श्रीमानले परिवारका सदस्यलाई थाहा नदिई बैकबाट कर्जा लिएर सो ऋण नतिरेपछि परिवारको बिचल्ली भएको छ । व्यक्तिगत ऋण प्रवाह लिदाँ घर परिवारलाई जानकारी नदिई भीमेश्वर नगरपालिका वडा नम्बर –४ जिलुका पुष्कर बहादुर खत्रीलाई ऋण प्रवाह गर्दा बृद्धअबस्थाका श्रीमती कान्छी खत्रीको बिचल्ली भएको हो । श्रीमानले परिवारका सदस्यलाई आफू बस्ने घर सहितको जग्गा जमिन धितो राखेर करिब तीन लाख रुपियाँ ऋण लिएर फरार भएपछि आफूलाई बैंकले सधैंभरि तनाव दिएको कान्छी खत्री बताइन । “मेरा छोराछोरी कोहिकसैलाई अंशबण्ड गरेको छैन, तर श्रीमानले बैंकबाट रकम झिकेर भागेको दुई बर्षसम्म पनि सम्पर्कमा नआएपछि घरबारी नै बैंकले कब्जा गर्छन् भन्ने डर भएको छ।“ उनले भनिन, “श्रीमानले अर्की ल्याएर बसेको छ भनेको सुनेको छु, तर हालसम्म घर फर्केर आएका छैनन्। यता बैंकले भने अब घरजग्गा लिलाम हुन्छ भनेर सधैं मानसिक तनाव दिइरहेका छन्।“ ५९ वर्षीय पुष्करले बास बस्ने कटेरो सहितको जग्गा जमिन धितो राखेर ऋण र भूकम्पको किस्ता समेत लगेर अर्कैसंग बस्ने गरेको आशंका श्रीमती खत्रीको छ। त्यसैले बृद्धअबस्थाका ६२ वर्षीया उनले भुतपुर्व आर्मी समेत रहेको श्रीमानको अंश सहित पेन्सन पाउ भनी जिल्ला अदालतमा मुद्दा हालेको बताइन् । ६ सन्तानकी आमा कान्छीको दुई छोरी र एक छोराको विहे भए तापनि दुई छोरी र एक छोराको बिहे हुन बाँकी छ। कान्छी छोरी कक्षा ९ मा अध्ययनरत छिन् ।खेतीपातीबाट जीवन गुजारा चलाइरहेकी कान्छीको श्रीमान पुस्करले थाहै नदिई बैंकबाट ऋण झिकेर भागेका कारण बस्ने कटेरो र खेतीपाती गर्ने खेतबारी नै बैंकले लिलाम गर्ने अवस्थामा पुगेको हो। यसबाट आफूलाई मर्नु र बाँच्नु भएको उनले बताइन् ।
पुष्कर खत्रीले २०७५ सालमा सिन्धु विकास बैंकबाट करिब ६ लाख रुपियाँ ऋण पास गरेका थिए । श्रीमती अपाङंग भएकोले बैंकमा उपस्थित गराउन नसक्ने भन्दै अन्य मान्छेलाई व्यक्तिगत जमानी राखेर कर्जा पास गराएका थिए। यो थाहा पाएपछि कान्छी खत्री बैंकमै पुगेर कराएको बताइन् त्यसपछि बैंकले व्यक्तिगत जमानीको कागजमा सहिछाप गरिदिए बाँकी तीन लाख दिनेसम्मको प्रलोभन दिएको उनले बताइन् ।

पारिवारिक सहमति बिना दिएको ऋण नलिने र ऋण कसको सहमति र के उद्देश्यका लागि दिएको भन्दै उनको गुनासो गरेपछि ३ लाख ऋण बैंकले तत्कालै घटाएको थियो। नियम अनुसार एकाघरका श्रीमतीलाई व्यक्तिगत जमानी नराखी बैंकले कुनैपनि ऋण प्रवाह गर्दैनन् ।तर चरिकोट स्थित सिन्धु बिकास बैंकले एकाघरका श्रीमती, घरपरिवार र छर छिमेक भन्दा टाढाको तेस्रो पक्षलाई व्यक्तिगत जमानी राखेर ऋण प्रवाह गरेको पाइएको छ ।ऋणीले हालसम्म कबोल गरे बमोजिम बैंकमा सावाँ व्याज तिरेका छैनन्। बैंकका अनुसार साँवा व्याज गरेर तीन लाख ८० हजार तिर्नुपर्ने हुन्छ ।हालका बैंक म्यानेजर नरेश पण्डितले उक्त ऋण आफ्नो कार्यकालमा नभई अघिल्लो बैंक म्यानेजरको पालामा प्रवाह भएको स्विकार गरे ।
हालसम्म सावाँ व्याज तिर्न नआएपछि ऋणीको खोजीकार्य भइरहेको उनले बताए । बैकको त्रुटीका कारण मात्रै यस्तो घट्ना हुन सक्ने चरिकोटका बैंकर्सहरु बताउँछन् । श्रीमतीलाई थाहै नदिइ झिकेको ऋणको सावाँ व्याज बुझाउन श्रीमतीलाई दबाब दिन नमिल्ने बैंकर्सहरु बताउँछन् । हिमाली जिल्ला दोलखा सदरमुकाम चरिकोटमा मात्रै सरकारी र निजी गरेर दर्जन बढी बैंकहरु सञ्चालनमा छन्। जस्मा १४ वटा बाणिज्य बैंक र दुई वटा विकास बैंक छन्।

Shares

Be the first to comment on "श्रीमानले परिवारको सहमति विना कर्जा लिए पछि परिवारको बिचल्ली"

Leave a comment

Your email address will not be published.


*