‘शैलुङ साइन्स पार्क’ निर्माण हुने

दीक्षण समाचार
चरिकोट, चैत्र १८
दोलखाको शैलुङ गाउँपालिकामा ‘शैलुङ साइन्स पार्क’ निर्माण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा शैलुङ गाउँपालिका–८ को शैलुंगेश्वरस्थित पोखरीडाँडामा उक्त पार्क निर्माण हुने भएको हो ।
सोही गाउँपालिकाको स्थानीय बुद्धिजीवी तथा शैलुङ गाउँपालिकाको पहलमा शैलुङ साइन्स पार्क निर्माण हुने गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताए ।
उनले भने, ‘स्थानीयको पहलमा बन्ने पार्कको निर्माण नास्टको सहकार्यमा हुने भएको हो ।’ उनका अनुसार नास्टले शैलुङ गाउँपालिकाको विभिन्न ३ स्थानमा अध्ययन गरी बुझाएको प्रतिवेदनमा पोखरी डाँडामा शैलुङ साइन्स पार्क ‘फिजिबल’ रहेको उल्लेख छ । नास्टका प्रविधि संकाय प्रमुख डा. रवीन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले गत माघ ९ र १० मा शैलुङ गाउँपालिकाको विभिन्न स्थानमा गरेको स्थलगत अध्ययनपछि शैलुङ साइन्स पार्क निर्माणको प्रक्रिया अघि बढेको छ । विभिन्न क्षेत्रका अनुसन्धानकर्ता, विज्ञ र नास्टको टोलीले शैलुङ गाउँपालिकाको पोखरीडाँडा, फलामपोखरी र राँकेडाँडामा दुई दिनसम्म स्थलगत अध्ययन गरिएको दुलालले जानकारी दिए । उनले भने, ‘जग्गा प्राप्तिपछि अर्को आर्थिक वर्षबाट सुरु गरेर ४ वर्षमा निर्माण गरिसक्ने नास्टको योजना छ ।’ उनका अनुसार शैलुङ साइन्स पार्क स्थापनापछि अनुसन्धान र विकासको कामलाई बढावा दिने, वैज्ञानिक ज्ञान तथा प्रविधिको प्रवाह गरिने र स्थानीय प्रविधि र परम्पराको संरक्षणमा सहजसँगै पार्कमा अन्तरिक्ष टेक्नोलोजी मोडेल, जैविक उद्यान, जलवायु नवीनता केन्द्र, नवीकरणीय उर्जा मोडेल, विद्यालय तथा कलेजस्तरका विज्ञान मोडेल र प्रयोगशाला, स्थानीय आविष्कारको प्रदर्शन, चिकित्सा र स्वास्थ्य प्रविधि, स्थानीय वास्तुकला तथा इन्जिनियरिङ संरचना हुने छ ।

Shares

Be the first to comment on "‘शैलुङ साइन्स पार्क’ निर्माण हुने"

Leave a comment

Your email address will not be published.


*