शैलुङमा साहित्यिक महोत्सव हुने, एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नु हुने

दीक्षण समाचार
चरीकोट, फागुन १०
दोलखाको शैलुङ गाउँपालिकाले एक दिवसीय साहित्यिक महोत्सव आयोजना गर्ने भएको छ । मंगलबार सम्पन्न गाउँ कार्यपालिकाको ७३ औं पूर्ण बैठकले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल शैलुङ डाँडामा आगामी २० गते साहित्यिक महोत्सव गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै पालिकाले महोत्सवको तयारीमा जुटेको छ । शैलुङमा यसअघि विभिन्न मेला महोत्सव भएपनि साहित्यिक महोत्सव भने हुन सकेको थिएन । अहिलेको महोत्सव पालिकामा मात्र नभई जिल्लामै पहिलो पटक आयोजना हुन लागेको पालिका अध्यक्ष भरत दुलालले सुनाउनुभयो । साहित्यको क्षेत्रबाट शैलुङको पर्यटन प्रर्वद्धन गर्न र साहित्यमा प्रोत्साहित गर्नको लागि महोत्सव आयोजना गरिएको हो । उहाँले भन्नुभयो‘ शैलुङ धार्मिक तथा सांस्कृतिक सभ्यताको केन्द्र हो । यसको महिमा र महत्व विश्वमा छ । अझै थप प्रचारप्रसार गर्न आवश्यक देखिएकोले महोत्सव गर्न लागेका हौँ ।’ महोत्सवको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने छ । अध्यक्ष दुलालले भन्नुभयो ’शैलुङको प्रचारप्रसार विषेश प्रकारले गर्ने योजनाका साथ एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै प्रमुख अतिथिको रुपमा स्वागत गर्ने छौँ । म आफैँ उहाँसँग भेटेर कुरा गर्दा आउने निधो गर्नुभएको छ ।” महोत्सवमा जिल्लाका सम्पूर्ण स्रष्टासँगै राष्ट्रिय स्तरका साहित्यकार गरी एक सय जनाले प्रस्तुति प्रस्तुत गर्ने छन् । महोत्सवमा गजल, मुक्तक, कविता, कथा प्रस्तुत हुने छ । तर कवितालाई विषेश जोड दिइने अध्यक्ष दुलालले बताउनुभयो । प्रसारप्रसार देखि मञ्च व्यवस्थापन लगायत गरी १० लाख खर्च हुने अनुमान गरिएको सो महोत्सवमा दुई हजार दर्शक सहभागी हुने उहाँले सुनाउनुभयो । जिल्लामा साहित्यिक गतिविधि हुन सकेको बेला शैलुङ गाउँपालिकाले महोत्सव आयोजना गर्न लागेको हो ।

Shares

Be the first to comment on "शैलुङमा साहित्यिक महोत्सव हुने, एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्नु हुने"

Leave a comment

Your email address will not be published.


*