ईश्वर बिश्वकर्मा
चरिकोट, असार ११
दोलखाको शैलुङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६० करोड १ लाख १० हजार बजेट सार्वजनिक गरेको छ । पालिकाको १२ औँ गाउँसभामा पालिका उपाध्यक्ष पार्वती कार्कीले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि नीति, कार्यक्रमसँगै बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाको आन्तरिक स्रोतका साथै संघ र प्रदेशबाट प्राप्त हुने अनुदानलाई समावेश गरी पालिकाले आफ्नो बजेट निर्माण गरेको छ । बजेटको परिचालनबाट जनअपेक्षा र योजना समावेश गरि तयार पारिएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नुका साथै अधुरा रहेका विगतका योजनालाई समेत पूरा गर्दै विकासको लक्ष्य हासिल गरिने पालिका उपाध्यक्ष कार्कीले बताउनुभयो । प्रस्तुत नीति, कार्यक्रममा सामाजिक, आर्थिक र भौतिक पूर्वाधार विकासलाई अनेकौँ शीर्षकमा समेटिएको छ । स्थानीय तहको दोस्रो कार्यकालका लागि निर्वाचित नयाँ जनप्रतिनिधिहरूले बजेटलाई नयाँपन दिने प्रयास गरेका छन् । पालिका उपाध्यक्ष कार्कीले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई विषेश प्राथमिकता राखेर नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिएको बताउनुभयो ।
पालिकालाई प्लाष्टिकमुक्त बनाउने नीति बनाइएको छ । वातावरण र सम्पूर्ण जीवनशैलीलाई अस्तव्यस्त बनाउने प्रमुख कारण प्लास्टिक भएकोले त्यसलाई न्यूनीकरण गर्ने र शून्य अवस्थामा पु¥याई पालिकालाई प्लाष्टिकमुक्त बनाइने छ पालिका उपाध्यक्ष कार्कीले बताउनुभयो । पर्यटन प्रवर्द्धन र विकासका लागि पालिकाले आगामी अंग्रेजी वर्ष २०२५ लाई शैलुङ भ्रमण वर्षको रुपमा मनाउने भएको छ । सामुदायिक विद्यालयमा कक्षा छ सम्मको विद्यार्थीको लागि नेपाल सरकारले उपलब्ध गराएको दिवा खाजा बापतको प्रति विद्यार्थी १५ रुपैयाँमा गाउँपालिकाले ५ रुपैयाँ थपी २० रुपैयाँ पु¥याइने नीति लिइएको छ । क वर्गका अपाङ्गता भएका व्यक्ति, ८० वर्ष पूरा भएका ज्येष्ठ नागरिक बिरामी भई स्थानीय स्वास्थ्य केन्द्रले रिफर गरेमा सम्बन्धित अस्पतालसम्म निशुल्क एम्बुलेन्स सेवाको व्यवस्था मिलाइने उपाध्यक्ष कार्कीले बजेट वक्तव्यको क्रममा सुनाउनुभयो ।
Be the first to comment on "शैलुङको प्राथमिकता कृषि र पर्यटन, ६० करोड बढी बजेट"