ईश्वर बिश्वकर्मा
चरिकोट, माघ १३
दोलखाका दलित महिला प्रतिनिधीहरुले दलितहरु अशिक्षितबाट भन्दा बढी शिक्षित र पढेलेखेकाबाटै विभेदमा परेको बताएका छन् ।
आइतबार परिवर्तनका लागि संवाद विषयक अन्तरक्रिया कार्यक्रममा जिल्लाका दलित महिला प्रतिनिधीले दलितलाई छुवाछुत गर्नेमा शिक्षित नै बढी मात्रमा रहेको बताएका हुन् ।
दलित भएकै कारण गरिने विभेद त छदैन छ, महिला भएकाले झन् छुवाछुतमा परेको दलित महिला प्रतिनिधीहरुले बताएका छन् ।
भीमेश्वर नगरपालिका १ की दलित महिला सदस्य कल्पना खातीले आफुहरु आफ्नै सहकर्मीबाट नै विभिन्न किसिमले जातीय छुवाछुतको चपेटामा परेको बताउछिन् । उनले वडाको विभिन्न कार्यक्रममा शरिक भएता पनि कुनै किसिमको महत्व दिइने नगरेको बताइन् ।
उनले भनिन् “ दलित लक्षित कार्यक्रम प्राथमिकतामा परे नपरेको मलाई कुनै जानकारी छैन् । हामी नै हरेक ठाउँमा छुवाछुतको चपेटामा परेका छौँ, अन्य दलित समुदायले त झन् बढी मात्रमा विभेद खेप्नुपरेको छ ।” उनले पछिल्लो समय केही मात्रमा छोइछिटो हटेको देखिए पनि अझै शिक्षित मानिसबाटै छुवाछुत हुने गरेको बताइन् ।
वडा नम्बर ४ की दलित महिला सदस्य स्वास्थानी बयलकोटीले जिल्लाको कुनै पनि पालिकाको प्राथमिकतामा दलित लक्षित बजेट नपरेको बताइन् । जातीय छुवाछुत गर्नुहुदैन भन्नेले नै छुवाछुत गर्ने गरेको र शिक्षितले नै छुवाछुत गर्ने गरेको उनले बताइन् । गाउँमा कानुनको डरले छुवाछुत कम हुदैँ गएको भएपनि सहरमा भने १८ औँ शताब्दीको झै जातीय विभेद कायमै रहेको छ । “कानुनले गर्दा हामी यो स्थानमा छौँ, नत्र भने हामीलाई कुनै अवसर दिइदैन्, माथिल्ला भनाउँदाकै राज चल्छ ।”
त्यसैगरि वडा नम्बर ५ की दलित महिला सदस्य तारा नेपालीले दलित समुदायको जीविकोपार्जनका लागि थोरै रकम विनियोजन भए पनि कतिपयले गैरदलितलाई पनि दिने गरेको बताइन् । यो वर्ष त दलित लक्षित बजेट कुनै पालिकाले विनियोजन नगरेको उनले बताइन् । उनले दलित लक्षित सीपमुलक कार्यक्रम हरेक वडामा गर्नुपर्ने माग राखेकी छिन् । “हामीलाई हरेक कार्यक्रममा बोलाउछन्, प्राथमिकतामा राख्दैनन् ” दलित महिला वडा सदस्य नेपालीले भनिन् ।
समानता समाज नेपाल, दोलखाको आयोजना र दलित महिला केन्द्र नेपाल संस्थाकाको सहयोगमा भएको अन्तरक्रिया कार्यक्रममा सहरी क्षेत्रमैँ छुवाछुतको अवस्था विकारल रहेकाले जनचेतनाको कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताए ।
उनले दलित शब्दमा नै विभेद रहेकाले दलित शब्द नै हटाउनुपर्ने बताए । उनले स्थानीय तहको प्राथमिकतामा दलित लक्षित कार्यक्रम नपरे पनि राज्यले दलित समुदायलाई प्राथमिकतामा राखेको बताए ।
गैरदलित र दलित सगैँ बसी खानुस् भन्न सकिदैन ः उपप्रमुख बस्नेत
अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले गैरदलित र दलित सगैँ बसेर खाना खानुस्, भन्ने अवस्था नरहेको बताएकी छिन् ।
उनले बुढापाकाको सोचमा परिवर्तन ल्याउन नसकिएकाले सो अवस्था आएको बताइन् । तर पछिल्लो पुस्ताले भने विभेद गर्ने कार्य कतैबाट नभएको बताइन् । कानुन निर्माणसहित जनचेतनाकाको कारण विभेद अन्त्य हुदै गरेको उनले बताइन् । आफु परिवर्तन हुन समय लाग्ने र समाज परिवर्तन हुन पनि लामो समय लाग्ने भएकाले धैर्य गर्नुपर्ने बताइन् । उनले विभिन्न संघसंस्था र स्थानीय सरकार समन्वयमा जातीय विभेद न्युनिकरण हुने बताइन् ।
अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र नेपालीले सामाजिक कुरुती अन्त्यका लागि दलितको अवस्था, स्थानिय तह र राज्यमा दलितको सहभागिता, दलित आन्दोलन लगायतको विषयमा कार्यपत्र प्रस्तुत गरे । अन्तरक्रिया कार्यक्रममा छुवाछुत अन्त्यका लागि अभियान चलाएको भन्दै मोहन बहादुर रिजाल, विष्णु नेपाली, रामकेशरी चर्मकार र दल बहादुर बिश्वकर्मालाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा भीमेश्वर नगरपालिकाका कार्यपालिका सदस्य दिपक धनुके, सुनम सुनाम, त्यसैगरि शैलुङ गाउँपालिका कार्यपालिका सदस्य कुल बहादुर बिश्वकर्मा, राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति दोलखाका अध्यक्ष सुदिप रसाइली लगायत दलित अगुवाहरुको सहभागिता थियो ।
Be the first to comment on "“ शिक्षितबाट नै विभेद विभेदको शिकार”,"