वीपी राजमार्गमा ठूला गाडी सञ्चालन गराउन प्रदेश सांसदहरुको माग

चरिकोट– विपि लोकमार्ग अन्तर्गत सिन्धुली–खुर्कोट सडकमा ठुला सवारी साधनमा सञ्चालनमा रोक लगाएकोमा प्रदेश नम्बर ३ का सांसदहरुले आपत्ति जनाएका छन् । सांसदहरुले सो सडकमा प्रति एक्सल भार १० टनको क्षमताको सवारी साधन चलाउन मिल्ने भएपनि ठुला सवारी साधन चलाउन रोक लगाउनु विधिसम्वत् नभएको बताएका छन् । दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोकका सांसदहरुले बुधबार बिज्ञप्ति जारी गर्दै सिन्धुली खुर्कोट सडकमा ठूला सवारी साधन सञ्चालन गर्न नदिएकोमा आपत्ति जनाएका हुन् ।

उनीहरुले सो सडक खण्ड हुँदै तराईबाट ल्याउने सिमेन्ट, रड, ईट्टा लगायतका पुर्न्निर्माणसँग सम्बन्धित सामाग्रिहरु ल्याउन कठिन भएको भन्दै ठुला सवारी साधन सञ्चालनमा रोक लगाउँदा पुर्न्निर्माणको समयमा भुकम्प पीडितहरु अझ बढी मारमा परेको बताएका छन् ।
सिन्धुली खुर्कोट सडकमा ठुला सवारी साधन नचल्दा र लामोसाँघुदेखि चरिकोटसम्मको सडकको दुराबस्थाका कारण रामेछाप, सिन्धुली, दोलखा, काभ्रेपलान्चोक लगायतका जिल्लावासी समस्यामा परेका हुन् । विपि लोकमार्गमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाउँदा खाद्यान्न, पुननिर्माणसँग सम्बन्धित सामाग्री, औषधी लगाएत अत्यावश्यक सामाग्री आयातमा समस्या भएको छ ।

सो सडक खण्डमा ठूला सवारी साधन नचल्दा दोलखा, रामेछाप लगायतका जिल्ला नाकाबन्दीमा परेको भन्दै यो बिषय प्रदेश सदनमा समेत उठाउने प्रदेश नम्बर ३ का सांसद बिशाल खड्काले जानकारी दिए । सिन्धुली खुर्कोट सडकमा ठुला सवारी साधन चलाउँदा अत्याधिक क्षति भएर दुर्घटना बढेको भन्दै यातायात व्यवस्था विभागले सडकको स्तरोन्नती र विस्तार नभएसम्म ठूला सवारी साधन चलाउन नहुने निर्णय गरेको थियो ।
सांसदहरुले ठूला गाडी रोक्दा बीचमा चढ्ने यात्रु र गरिब विपन्न यसको प्रत्यक्ष मारमा पर्ने उल्लेख गरेका छन् । राजमार्ग बनाएर ठूलालाई रोक्नु भनेको साना गाडीको सिण्डिकेट भएको आरोप लगाएका छन् ।

हालै सर्वाेच्च अदालतले पनि यातायात विभागको निर्णय सदर गर्दै विपि लोकमार्गमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाएपछि प्रदेश सांसदहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । दोलखाबाट प्रदेश सांसद पशुपति चौँलागाई, बिशाल खड्का, आङडेन्डि शेर्पा, हिमाली गोले, सरस्वती बस्नेत, रामेछापका प्रदेश सांसद, शान्ति प्रसाद पौडेल, रिता माझि, सिन्धुलीबाट प्रदिप कुमार कटवाल, लेखनाथ दाहाल, बुद्धिमान माझि, बिनोद खड्का, काभ्रेका सांसद चन्द्र बहादुर लामा, रत्न ढकाल, गोमा भुर्तेलले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् ।
यस अघि सिन्धुली प्रशासनले ठूला गाडी रोक लगाएपछि २ हप्ता ठूला गाडी चलेका थिएनन् । रामेछाप, दोलखा, सिन्धुली लगायतका व्यवसायीहरुको आन्दोलनपछि यातायातमन्त्री रघुविर महासेटले १६ टनसम्मभारका ट्रक र ३२ सिट क्षमता बस सञ्चालन गर्न अनुमति दिएका थिए । खुर्कोट–सिन्धुली खण्डमा धेरै घुम्ती भएकाले सरकारले बजेटमै खुर्कोट–चियाबारी खण्डमा सुरुङमार्ग बनाउने घोषणा गरेको छ ।

Shares

Be the first to comment on "वीपी राजमार्गमा ठूला गाडी सञ्चालन गराउन प्रदेश सांसदहरुको माग"

Leave a comment

Your email address will not be published.


*