विश्वकर्मा पूजामा मजदुरलाई सुनको सिक्री उपहार

दीक्षण समाचार
चरिकोट, १ असोज

विश्वकर्मा पूजाका अवसरमा दोलखाको एक क्रसर उद्योगले आफ्ना मजदुरलाई सुनको सिक्री उपहार दिएको छ । तामाकोसी गाउँपालिका वडा नं. १ गोपीखोलामा रहेको दोलखा जलदेवी क्रसर उद्योग एण्ड सप्लायर्सले २ जना मजदुरलाई सुनको सिक्री उपहार स्वरुप हस्तान्तरण गरेको हो ।
उद्योग अध्यक्ष इश्वरी उप्रेतीले क्रसर तर्फ इमानदार तथा बफादार काम गर्ने मजदुर मकवानपुरका देवराज पुरीलाई आधा तोलाको सुनको सिक्री उपहार प्रदान गरेकी हुन् । त्यसैगरी मेसिन औजार तर्फ उत्कृष्ट काम गर्ने मजदुर खड्गबहादुर राना मगरलाई कार्यकारी प्रबन्धक अभिमानसिंह बस्नेतले आधा तोलाकै सुनको सिक्री उपहार स्वरुप लगाएका हुन् ।
उद्योगमा मालिक भनेकै मजदुर भएकाले उनीहरुले राम्रो काम गरे उद्योगले सफलता हाँसिल गर्ने हुनाले हौसला स्वरुप उपहार वितरण गरेको उद्योगका व्यवस्थापक सिताराम उप्रेतीले जानकारी दिए । मालिक र मजदुर बीचमा विधेद हटाउनका लागि पनि उद्योग व्यवस्थापन लागेको उनले बताए । सोमबार उद्योगका सम्पूर्ण पार्टपूर्जा पूजा गरी पर्वकै रुपमा उद्योगले मनाएका थिए । उद्योगमा दुई दर्जन बढी मजदुर कार्यरत छन् । दुवैजना उपहारप्राप्त मजदुरहरुलाई वयोवृद्ध महेश्वर रिमाल र पदम चौलागाईले दोसल्ला ओढाई सम्मान गर्नु भएको व्यवस्थापक उप्रेतीले जानकारी दिए ।

Shares

Be the first to comment on "विश्वकर्मा पूजामा मजदुरलाई सुनको सिक्री उपहार"

Leave a comment

Your email address will not be published.


*