विपद्मा जोगिन सिकाउँदै पुस्तकालय

ईश्वर बिश्वकर्मा
चरिकोट, बैशाख ६
दोलखाका चार सामुदायिक विद्यालयमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी कृतिम घटना अभ्यास गरिएको छ । नेपालमा अपाङ्गता समाबेशी विपद् जोखिम न्यूनीकरण परियोजना–तेस्रो अन्तर्गत कालिञ्चोक मावि, बुढा भिमसेन मावि, महेन्द्रोदया मावि र विष्णुटोल आविमा आगलागी र भूकम्पसम्बन्धी कृतिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको हो । परियोजना ए.एस. बी जर्मन, रिड नेपाल र गौरीशंकर सामुदायिक पुस्तकालयको साझेदारीमा सञ्चालित छ ।
पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतले विद्यार्थीहरुलाई आगलागी र भूकम्पीय जोखिम न्यूनीकरण र प्रतिकार्य सम्बन्धी ज्ञान र सीप प्रदान गर्ने उदेश्यले विद्यालयमा कृतिम घटना अभ्यास कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । विपद् न्यूनीकरणका लागि पूर्वतयारीदेखि विपदपछिको कार्यको जानकारी अभ्यास कार्यक्रममा प्रदान गरिनएको छ । बिना सूचना जुनसुकै समयमा आउनसक्ने विपद विनासकारी हुन्छ । यसले जनधनको क्षति गर्छ । विपद रोक्न त सकिदैन । तर न्यूनीकरणको पूर्वतयारी गर्न सके र घटना भइहालेमा समयमै खोजउद्दार व्यवस्थापन गर्न सके जनधनको क्षति बढि हुन पाउँदैन । त्यस सम्बन्धी ज्ञान र सीप सबैलाई नितान्त आवश्यक छ । यही कुरालाई मध्यनजर गरी विद्यालयमा भीमेश्वर नगरपालिकाको प्राविधिक मार्फत विद्यार्थीको सहभागितामा कृतिम घटना अभ्यास गरिएको छ ।

कृतिम घटना अभ्यासमा थिर बहादुर खड्का, राजन खड्गि, कैलाश कार्की र गणेश श्रेष्ठले सहजीकरण गर्नुभएको थियो । विपदका कारण क्षति हुनबाट जोगिन यस किसिमका कार्यक्रमले महत्व राख्ने गर्दछ। पुस्तकालयका अध्यक्ष बस्नेतका अनुसार आगलागी नियन्त्रण र क्षति न्यूनीकरण गर्न तथा भूकम्पीय जोखिमबाट बच्न र बचाउन कृतिम अभ्यास गरी विद्यार्थीलाई सचेतनासँगै सीप प्रदान गरिएको हो । कृतिम घटना अभ्यासमा सहभागी भएका विद्यार्थीले थप जानकारी र सीप सिकेर परेको बेला सीपको उपयोग गर्नुपर्छ । त्यसैगरी अभिभावक र छरछिमेकलाई समेत ती जानकारी दिन आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँले समुदायस्तरमा समेत यस्ता कार्यक्रम सञ्चालन गरिरहेको सुनाउनुभयो । परियोजनाअन्तर्गत विभिन्न तालिम, अभिमुखीकरण लगायतका कार्यक्रमहरु सञ्चालन भइरहेको छ । जसले पुस्तकालय र पाठकलाई जोड्ने काम गरेको पुस्तकालयका अध्यक्ष बस्नेतले बताउनुभयो । कार्यक्रमको प्रभावकारिताले पुस्तकालयमा पाठकहरु बढ्न थालेको उहाँले सुनाउनुभयो ।

Shares

Be the first to comment on "विपद्मा जोगिन सिकाउँदै पुस्तकालय"

Leave a comment

Your email address will not be published.


*