दीक्षण समाचार ÷चरिकोट,–दोलखाको सदरमुकाम चरिकोटमा अवस्थित पशुपति कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ । भीमेश्वर नगरपालिकाले चालु आव २०७९÷०८० को वार्षिक कार्यक्रम अन्तर्गत शिशु कक्षादेखि छ कक्षासम्मका एक सय ३१ जना विद्यार्थीलाई बिहीबार ट्रयाक सुट वितरण गरेको हो ।
नगरप्रमुख ईश्वरनारायण मानन्धरले विद्यार्थीहरुलाई पोशाक हस्तान्तरण गर्नुभएको छ । सो क्रममा उहाँले नगरको शैक्षिक गुणस्तर सुधार गर्न आफ्नो नेतृत्वले काम गरिरहेको बताउनुभयो । नगरका सामुदायिक विद्यालय र संस्थागत विद्यालयमा एउटै रङको पोशाक लागू भएको छ । जसले गर्दा बालबालिकाको मनोविज्ञानमा सकरात्मक प्रभाव पर्नुका साथै सबै विद्यार्थी समान हुन्, भन्ने भावनाको विकास भएको उहाँले बताउनुभयो । नगरप्रमुख मानन्धरले विद्यार्थीहरुको शैक्षिक तथा आर्थिक अवस्थालाई मध्यनजर गर्दै उनीहरुमा पढाइप्रतिको लगाब र उत्साह जगाउन पोशाक वितरण गर्न थालिएको बताउनुभयो । उहाँले अन्य विद्यालयमा पनि क्रमशः वितरण गरिने सुनाउनुभयो ।
पशुपति कन्या माविका प्रधानाध्यापक गोविन्दनारायण मानन्धरले नगरपालिकाले विद्यार्थीहरुलाई पोशाक उपलब्ध गराएकोमा खुशी व्यक्त गर्दै विद्यार्थीलाई अध्ययनमा हौसला मिलेको बताउनुभयो । उहाँले विद्यालय गुणस्तरीय शिक्षामा सधैँ प्रतिबद्ध रहेको सुनाउनुभयो ।
Be the first to comment on "विद्यार्थीलाई पोसाक वितरण"