दीक्षण समाचार
चरिकोट, जेठ २९
दोलखाको दुई वडामा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सुरु भएको छ । शैलुङ गाउँपालिका वडा नं ५ र बैतेश्वर गाउँपालिका वडा नं. ६ मा कृषि विकास ब्याँकले आइएफडीको आर्थिक साझेदारीमा आरपीएसएफ एपीआइए परियोजना अन्तर्गत कृषक समूह र सहकारी संस्थाको सहकार्यमा कार्यक्रम सुरु गरेको हो । किसानको वित्तीय सेवामा पहुँच र प्रयोग बढाउने उद्देश्यका साथ सञ्चालित कार्यक्रम शैलुङ गाउँपालिका वडा नं. ५ मा इन्द्रावती महिला कृषक समुह र वैतेश्वर गाउँपालिका वडा नं ६ को सिर्जनशील कृषि सहकारी संस्थासँगको सहकार्यमा सुरु भएको हो ।
किसान एप र किसान क्रेडिट कार्डका माध्यमबाट कृषकको व्यवसायिक पहुँच वृद्धि गर्ने कार्यक्रमको लक्ष्य रहेको कार्यक्रमका कर्मचारी सुदिप अधिकारीले बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा एउटा समुहमा २५ जना सहभागी हुने छन् । आपूर्ति श्रृङखलामा संलग्न साना सीमान्तकृत किसानहरु, संकलक तथा प्रशोधनकर्ता, उद्यमीहरु, कम्तीमा ६०% महिला, ३०% युवा एवं दलित जनजाती लगायत पिछडिएका वर्गलाई लक्षित गरिएको सो कार्यक्रममा १५० जना प्रत्यक्ष लाभान्वित हुने उहाँले सुनाउनुभयो । वागमती प्रदेशका १३ मध्ये आठ जिल्लामा वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सञ्चालन भईरहेको छ । परियोजनाले दोलखामा उत्पादक र व्यापारी, उत्पादक, व्यापारी र सेवा प्रदायक संस्था बीच व्यवसाय वृद्धि सम्बन्धी अन्तरक्रिया कार्यक्रमको साथै किसानलाई डिजिटल प्रणालीको अभिमुखीकरण कार्यक्रम संचालन गर्दै आएको अधिकारीले बताउनुभयो ।
Be the first to comment on "वित्तीय शिक्षा तथा व्यवसायिक साक्षरता कार्यक्रम सुरु"