विगूको बुहारी गाउँ फर्काऊ अभियान

सिंगटी, २ असार– दोलखाको विगू गाउँपालिकाले ‘बुहारी घर फर्क अभियान’ सञ्चालन गर्ने भएको छ । छोरा बुहारी सहित युवाहरु गाउँ छाडेर सहर बस्न थालेपछि गाउँ सुन्य हुन थालेको छ । शिक्षा र स्वास्थ्यका नाममा युवा युवती र बालबच्चा समेत सहर छिर्दा गाउँमा बुढाबुढीमा बस्न थालेकाले गाउँपालिकाले युवाहरु गाउँ फर्काउन बुहारी फर्काऊ अभियान सुरु गर्न लागेको हो ।
विगू गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्काले बुहारीलाई गाउँ फर्काउँदा उनका बालबच्चा समेत फर्कने भएकाले यस्तो अभियान सुरु गर्न लागेको जानकारी दिए । संघीय सरकार र प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम सहित बजेट समेत प्रस्तुत गरिपछि गाउँपालिका आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माणमा जुटेको छ ।
गाउँपालिकाले आफ्नो महत्वपूर्ण अभियानको रुपमा सहरमा बसेका बुहारीहरु गाउँमा फर्काउनका लागि कार्यक्रम नै बनाउने अध्यक्ष खड्काले जानकारी दिए । ‘गाउँका धेरै युवा बैदेशिक रोजगारीमा छन्, बुहारीहरु छोराछोरीको शिक्षाको नाममा सहरमा कोठा लिएर बस्दा गाउँमा बुढाबुढी मात्र भए ।’ उनले भने ‘छोरा रोजगारीमा विदेश भए तापनि एउटा बुहारीसँग बालबच्चा, श्रम, सीप लगायत धेरै गाउँ फर्किने भएकाले बुहारीलाई जोड दिन लागेका हौं ।’ अहिले गाउँमा बुढाबुढी मात्र हुँदा कुनै दिन गाउँमा जनसंख्या घट्दै जाने सहरमा जनसंख्या बढ्दा विकासमा समेत असन्तुलन देखिएको उनले बताए ।
‘हामीले निर्वाचित भएपछि एक वर्षमा धेरै गाउँहरु घुम्यौं, विकासका योजना लिएर गयौं’ उनले भने ‘विकास र समृद्धिका नारा र कार्यक्रम लगेर मात्र केही नहुने देखियो, गाउँमा काम काम गर्ने मान्छे नहुँदा कस्का लागि विकास र सम्वृद्धि गर्ने ?’ बुहारी फर्काउन स्थानीयस्तरमै शिक्षा र स्वास्थ्य सेवा गुणस्तरको बनाउन गाउँपालिकाले आफ्नो काम सुरु गरिसकेको विगूका प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।
‘सहर छिर्ने मुख्य काम, शिक्षा, स्वास्थ्य र रोजगारी नै देखियो’ उनले भने ‘शिक्षाको गुणस्तर बढाउँन यही शैक्षिक वर्ष २०७५ देखि सबै आधारभूत विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको छ ।’ अंग्रेती अन्र्तराष्ट्रिय भाषा भएकाले सबैको आकर्षण अंग्रेजीप्रति भएकाले सबैमा अनिवार्य अंग्रेजी माध्यम गरिएको उनले बताए । अंग्रेजी माध्यममा पढाउनका लागि शिक्षकहरुलाई त्यही अनुसारको तालिमको व्यवस्था, पाठ्यपुस्तकको व्यवस्थापन गरिएको बताए । गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा सर्वसुलभ र गुणस्तरीय शिक्षामा गाउँपालिकाले जोड दिने उनले बताए ।
स्वास्थ्यमा क्षेत्रको विकासमा भएका स्वास्थ्य चौकीमा नियमित स्वस्थ्यकर्मीको व्यवस्था र औषधीको अभाव हुन नदिने गरी गाउँपालिकाले काम गरिरहेको उनले बताए । स्वास्थ्य संस्थाको आवश्यक स्तरोन्नती र व्यवस्थापनमा गाउँपालिकाको कार्यक्रम नै बनाएको छ । गाउँपालिका भित्र धेरै जलविद्युत आयोजना लगायतका विकास निर्माणको काम बढी रहेकाले रोजगारीको अवसर सिर्जना भइरहेकोले कामको खाँचो नभएको उनले बताए ।
गाउँका २५ प्रतिशतभन्दा बढी काठमाडौंमा रहेको गाउँपालिकाको अनुमान छ । त्यस्तै जिल्ला सदरमुकाममा १० प्रतिशत जति छन् । सिक्किमतिर र अन्य जिल्लामा समेत रहेकाले आधाभन्दा बढी गाउँ बाहिर रहेको अध्यक्ष खड्काले बताए । धेरैजसो बुहारीहरु र तिनका बालबच्चाहरु दसैंतिहार जस्ता चाडपर्वमा मात्र गाउँ आउँदा गाउँको रीतिरिवाज र समाज नै भविष्यमा भुल्ने हो कि भन्ने चिन्ता समेत बढ्न थालेको छ ।
बुहारी सहित युवाहरु गाउँमा बस्दा घरको काम पनि हुने र उनीहरुले विहान बेलुका काम गर्दा खेतीपाती समेत हुँदा उत्पादन बढ्ने गाउँपालिकाको अनुमान छ । ‘पहिला पहिला घरका युवाहरु सबैले काम गर्थे, खेतबारी सबैमा उत्पादन हुन्थ्यो र घरमा आफ्नै उत्पादनले पुग्थ्यो’ अध्यक्ष खड्काले भने ‘अहिले बुढाबुढी मात्र गाउँमा हुँदा खेतबारी बाँझै हुने गरेको देखियो ।’
गाउँमा युवाहरुको आकर्षण बढाउन चालु आर्थिक वर्षमा गाउँपालिकाले प्रमुख रुपमा सडकमा लगानी गरेको छ । गाउँपालिका भित्र यस वर्ष टोलटोलसम्म सडक पुगेका छन् । अब गाउँपालिका आउँने द्रुतमार्ग र मुख्य राजमार्गसँग जोडिएका सडक १२ महिना सञ्चालन हुन सक्ने बनाउँने कार्यक्रम रहेको उनले बताए ।
विगू गाउँपालिकाले आगामी वर्षका लागि घर घरमा धारा, पर्यटनको पूर्वाधार निर्माणमा विशेष जोड दिने गरी योजना बनाउन लागेको उनले बताए । प्राकृतिक साधन र स्रोतमा सम्पन्न विगूमा त्यसलाई सदुपयोग गरेर गाउँपालिको प्रतिव्यक्ति आय बढाउने गरी योजना तर्जुमा हुँदैछ ।

Shares

Be the first to comment on "विगूको बुहारी गाउँ फर्काऊ अभियान"

Leave a comment

Your email address will not be published.


*