विगु गाउँपालिकाका हुनेखाने व्यक्तिहरुद्वारा नै राहत माग

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र २६
दोलखाको विगु गाउँपालिकाका हुनेखाने सम्पन्न व्यक्तिहरुले नै राहत स्वरुप खाद्यान्न सहयोगको माग गरेका छन् ।
पालिकाले प्रत्येक वडामा राहत वितरणका लागि विपन्न परिवारको तथ्याङ्क संकलन गरि राहत वितरण गर्ने तयारी गरिरहेका बेला हुनेखाने परिवारले नै राहत माग गरका हुन् ।
कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई रोक्नका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरि परिवार पाल्दै आएका मजदुर काम विहिन भएका छन् । पालिकाले अतिविपन्न, अपाङ्गता भएका, दैनिक हातमुख जोड्न नसक्ने परिवारलाई राहत वितरणका लागि तथ्याङ्क संकलन गरिरहेको छ । तर तथ्याङ्क संकलन क्रममा सम्पन्न व्यक्तिहरुले नै राहतको माग गरेको पालिका अध्यक्ष युधिष्ठिर खड्काले बताए । उनले भने “पालिकाका हुनेखाने व्यक्तिहरु नै राहत उपलब्ध गराइदिन भन्ने गर्दछन् । सबैलाई राहत उपलब्ध गराउनुपर्छ भन्ने जनताबाट आइरहेको छ । तर वास्तविक विि विपन्न परिवारलाई मात्र घरघरमा राहत उपलब्ध गराउन लागि परेका छौं । हामीले वडाका जनप्रतिनिधिहरुलाई पनि वास्तविक विपन्नलाई राहतका लागि सिफारिस गर्न निर्देशन दिइएका छौं ।” विपन्न र कमजोर आर्थिक स्थति भएका वर्गलाई सहयोग गर्नुपर्ने बेलामा सम्पन्न व्यक्तिहरु नै राहत लिन खोज्नु अत्यन्तै दुखद भएको उनले बताए । गाउँकार्यपालिकाको चैत्र २० गते बसेको ३६ औँ बैठकले कमजोर आर्थिक अवस्था भएको विपन्न परिवारको तथ्यांक संकलन गरि खाद्यान्न राहत उपलब्ध गराउने निर्णय गरेको थियो । पालिकाले राहत कार्यविधी अनुसार चामल, दाल, नुन, तेल लगायतको खाद्यान्न राहत स्वरुप विपन्न वर्गलाइ चाडैँ घरघरमा उपलब्ध गराउने छ । यो विषम् परिस्थतिमा वास्तविक भोको पेट भएकाले मात्रै राहत लिइ सहयाेग गरिदिनु हुन पालिकाले अनुरोध गरेको छ ।

Shares

Be the first to comment on "विगु गाउँपालिकाका हुनेखाने व्यक्तिहरुद्वारा नै राहत माग"

Leave a comment

Your email address will not be published.


*