वलियो को ?कोरोना कि कागज !

पत्रकार अर्जुन अपवाद कोरोनाबाट संक्रमित भए । अहिले उनि कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनले स्वाव दिँदादेखि रिपोर्ट नेगेटिभ आउँदासम्मको समयलाई दैनिकीका रुपमा लेखेका छन् । उनको दैनिकीलाई हामी यो श्रृङ्खला १५ अंकसम्म प्रकाशन गर्नेछौं।

०७७ कार्तिक २४ गते
विहानै एक जनाले सुरक्षित स्थल छाडे । रिपोर्ट आउँदा उनको रिपोर्ट नेगेटिभ भनेर आएको थियो । उनलाई स्वाव दिनुभन्दा अगाडि नै ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । उनि रिपोर्ट पोजेटिभ आउला भनेर ढुक्क भइ अस्पतालबाट सिधै यता आएका थिए । म नेगेटिभ आउँछ भनेर कोठामा गएको थिएँ । हामी स्वाव दिन आउँदा एम्बुलेन्समा सँगै आएका थियौं । उनले एम्बुलेन्समै भनेका थिए हेर्नुस सर मलाई त लक्षण पनि छ पोजेटिभ नै आउला । तपाँइलाई लक्षण केहि पनि छैन । कसैकसैलाई त फल्स पोजेटिभ पनि आउन सक्छ भन्छन् । तपाँइलाई पनि फल्स पोजेटिभ आउला है । एउटा रिपोर्टले हाम्रो अवस्था फेरेको थियो । उनि खुला संसारमा निस्किए । म बन्द संसारमा पसें । रोगको शक्ति धेरै थियो कि रोग लागेको भन्ने कागजको ? विहानै गर्ने के ? कतै जान मिलेन ! झण्डै २ रोपनी क्षेत्रफलमा बनाइएको सुरक्षित स्थलमा हामीलाई प्रयोग गर्न मिल्ने ठाउँ भनेको १ रोपनी मात्रै थियो । मैले साधना गर्नका लागि केहि सामाग्री पाइएला कि भनेर क्वारेन्टाइनका सुरक्षा गार्ड दाइसँग सोधखोज गरें केहि पाइएन । ओच्छ्यानमै साधना गरें । विद्यालय नजिकैको पिपलको बोटको एकापट्टिको हाँगा भाँचिएको थियो । क्वारेन्टाइन चलेकै बेलामा त्यो हाँगा भाँचिएको भनेर मलाई भान्से दाइले जानकारी दिएका थिए । भाँचिएर बाँकि भएको ठुटामा रहरलाग्दा मुना पलाएका थिए । मोबाइलबाट फोटो खिचें । लाग्यो भाँचिँदैमा टुक्रँदैमा प्रकृतिले पनि नयाँ सृजनाका लागि कहाँ हार मान्छ र । यसरी हार मानेको भए यो संसार जमानामै मरुभूमि भइसक्थ्यो होला । मसँग लुगा लगाएको मात्र थियो ।
धेरै दिन एउटै लुगा लगाएको देखेर एक जना साथीले अर्जुनले त सरसफाइमा ध्यान नदेर पो कोरोना भो कि भनेका थिए । अँ साँच्ची तपाँइ त सफाचट हुनुहुन्थ्यो । तपाँइलाई चैं कसरी आयो होला ? मेरो जवाफमा उनको पनि जवाफ थिएन । भएको भए पर्काउँथे होलान । मैले थप लुगा ल्याउनका लागि एकजना दाइसँग कुरा गरें । उनले आउने नआउने टुङ्गो नभएको बताए । त्यसपछि मैले कुरा गरिँन । भोली इश्वर र रीता आउने कुरा थियो । उनिहरु आउँदा ल्याइहाल्छन नि । रोशनले फोन गरेका थिए ९ बजेर ४० मिनेटमा । मैले उनलाई पनि रिपोर्ट पोजेटिभ आएको बताएको थिएँ । उनले स्वाव दिँदादेखि नै मलाई रिपोर्ट के आयो भनेर जानकारी मागिरहेका थियो । निरन्तर रुपमा कहिले फोनमा । कहिले फेसबुक म्यासेन्जरमा । हामीसँगै स्वाव दिएका अर्का साथीलाई फोन गरें । उनलाई पनि पोजेटिभ देखिएको थियो ।
उनी रिपोर्ट आउनुभन्दा अघि नै काठमाण्डौ गइसकेका थिए । स्वाव दिएर फर्कँदा नै उनले बसिरहेको कोठा छाडेर नयाँ ठाउँमा कोठा सर्नुपरेको थियो । सुरक्षित स्थलमा थप के के सामाग्री चाहिन्छ भनेर अर्का साथीले लिष्ट बनाए । स्थानीय तहले ति सामाग्री किन्ने कुरा भएको थियो । शरिरलाई न्यानो राख्न आवाश्यक सामाग्री र दिउँसो खेल्नका लागि खेलकुद सामाग्रीहरुको लिष्ट बन्यो । दिउँसो स्थानीयहरु, जनप्रतिनिधी, र स्वास्थ्यकर्मीहरु हाम्रो अवस्था बुझ्नका लागि आए । जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्य अवस्था बुझ्नका लागि फोन गरेको थियो । एकजना महिलाले दैनिक फोन गरेर जानकारी लिने बताएकी थिइन् । बुबाले पैसा चाहिन्छ कि नत्र पठाउँछु भनेर फोन गर्नुभयो । मैले चाहिन्न भनें । मलाई पैसाको कुरा किन गर्नुभयो भन्ने लागेको थियो ।
रिताले बुबालाई फोन गरेर मलाई कोरोना भएको जानकारी दिइछ । आमालाई फोन गरें । आमा बाख्राले जोर बोका पायो भनेर खुसी हुनुहुन्थ्यो । अलि अगाडि मृगलाई गोठबाटै के ले खाइदिएपछि अलिक पिर मान्नु भएको थियो । मैले कोरोना लागेको कुरा गरिँन । गार्ड दाइले कोशीमा पुगेर मुडा बोकेर ल्याएका थिए । हामीले बेलुका मुडा जोडेर आगो बाल्यौं । एकजना साथी सुरक्षित स्थल नबस्नका लागि सकेको प्रयास गरिरहेका थिए । त्यसका लागि उनले सबैतिर फोन गरेका पनि थिए । कसैले उनको कुराको सुनवाई गरेनन् क्यार । उ गनगन गरिरहेको थियो ।

Shares

Be the first to comment on "वलियो को ?कोरोना कि कागज !"

Leave a comment

Your email address will not be published.


*