ईश्वर दाहाल
चरिकोट, साउन १२
दोलखाका किसान वन्यजन्तुको कारण आजित छन् । खेतबारीको बाली जोगाउन उनीहरूलाई हम्मे छ । अनेक जुक्ति र उपाय रचेर खेतबारीमा पसेको वन्यजन्तु भगाउन प्रयास गर्छन् । तर ति उपायले दिगो रुपमा काम गर्दैन । किसानहरूले लखेटेपछि वन्यजन्तु जङ्गल छिर्छ । फेरि केही समयपछि बाली खान खेतबारी तिरै फर्कि हाल्छ । किसानहरू सबैभन्दा बढी बाँदरका कारण आजित बनेका छन्, भने दुम्सी, मृग, खरायो लगायतका वन्यजन्तुका कारण चिन्तित भएका छन् । जिल्लाका अधिकांश किसान वन्यजन्तुबाट पीडित छन् । बैत्यश्वर गाउँपालिका ३ मिर्गे चिलाउनेखर्कका किसानलाई भने बाँदरको मात्रै चिन्ता बढेको छैन । दिनभर बाँदरबाट जोगाएको अन्नबाली राति दुम्सीले खाएर नष्ट गर्दा निद्रा लाग्दैन । “दिउँसो बाँदरले अन्नबाली सखाप पार्छ । बाँकी रहेका अन्नबाली राति दुम्सीले नष्ट पार्छ ।” नन्दकुमारी दाहालले दुखेसो पोख्दै भन्नुभयो “दिउँसो बाँदर धपाउन व्यस्त हुन्छौ । अन्य काम गर्न पाउँदैन । राति सुत्न पाउँदैनौ । सुते दुम्सीले अन्नबाली राख्दैन ।” गाउँमा बाँदर लगायतका वन्यजन्तुको आतंक बढेपछि कृषि पेशामा निराशा छाएको अर्का चोकप्रसाद दाहालले बताउनुभयो । “बाँझो बारी फुटाएर, पसिना बगाएर अन्नबाली लगाउँछौ । तर त्यसबापत सोचेअनुरूप सजिलै बाली भित्र्याउन पाइदैन ।” उहाँले भन्नुभयो “अनि अब कृषिमा पसिना बगाउनुको के अर्थ ? त्यसैले कृषिको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।” उहाँले खेतबारी नै बाँझो राख्ने मनसाय रहेको सुनाउनुभयो । भीमेश्वर नगरपालिका वडा नं. ५ धरमघरका कृष्ण कुमारी लामिछानेको थोरै जग्गामा लगाएको अन्नबाली पनि बाँदरको हुल आएर नष्ट पार्ने समस्याले आफूलाई भोको हुनुपर्ने चिन्ता बढेको गुनासो छ । उहाँहरु त वन्यजन्तु पीडित प्रतिनिधि मात्र हुनुहुन्छ । यस्तै पीडित किसानहरू जिल्लमा थुप्रै छन् । गाउँमा उपद्रो र आतङ्क मच्चाउने बाँदर लगायतका वन्यजन्तुका कारण किसानहरू तनावमा छन् । किसानहरूले वन्यजन्तु धपाउन के सम्म गरेनन्, कस्ता कस्ता उपाय सोचेनन्, तर वन्यजन्तुले खेतबारीमा आउन छाडेन । कतिपय किसानले बाली जोगाउन खेतबारीमा बुख्याँचा राख्ने गरेका छन् । तर मानिस देख्दा भाग्न अटेर गर्ने बाँदर बुख्याँचा देखेर तर्सिने समेत गर्दैन । कतिपयले थाल वा नाङ्लो ठट्टाएर बाँदर आतङ्क रोक्न खोज्छन् । कतै शङ्ख समेत बजाएर तर्साउने कोसिस गर्छन् । तर वन्यजन्तुले किसानलाई दुख दिन छाडेको छैन । वर्षेनी किसानहरूले वन्यजन्तुसँगको द्धन्द्धको सामाना गरिरहेका छन् । उनीहरुले त्यसबाट मुक्ति पाउन निकै संघर्ष र प्रयासहरु गरेपनि ति प्रयासहरु असफल भएपछि थप निराश भएका छन् । वन्यजन्तुबाट पीडित किसानहरूले क्षतिपूर्ति पाउनुपर्ने र आफ्ना गुनासोहरु सम्बोधन हुनपर्ने माग राखेका छन् ।
Be the first to comment on "वन्यजन्तुबाट हैरानी खेप्दै दोलखाका किसान"