ईश्वर विश्वकर्मा, चरिकोट ः दोलखामा आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै हलो र गोरु लोप हुन थालेका छन् । किसानहरुले खेतबारी जोत्न छिटो, सजिलो र भरपर्दो यन्त्र हातेट्याक्टरको प्रयोग गर्न थालेसँगै हलो र गोरु लोप हुन थालेका हुन् । कृषि ज्ञान केन्द्र रामेछाप, सम्पर्क कार्यालय दोलखाका प्रमुख नन्दराज ओलीले आधुनिक प्रविधि भित्रिएसँगै जिल्लाको अधिकांश स्थानमा हलो र गोरुको प्रयोग हुन छाडेको बताउनु भयो । परम्परागत कृषि कर्ममा सर्वाधिक प्रयोग हुने हलो र गोरुलाई हिजोआज हाते ट्याक्टरले विस्थापित गरिदिएको उहाँको भनाई छ ।
आधुनिक प्रविधिको प्रयोगले कृषिमा लागत कम लाग्ने र उत्पादन बढी हुने हुँदा किसानहरु त्यसतर्फ आर्कषित हुदै गएको उहाँले बताउनु भयो । “पहिले खेतबारी जोत्नका लागि हलो र गोरुको प्रयोग सर्वाधिक हुन्थ्यो । त्यो निकै झन्झटिलो र खर्चिलो थियो ।” उहाँले भन्नुभयो “अहिले कम खर्चमा छिटो काम हुने हाते ट्याक्टरको प्रयोग व्यापक हुन थालेको छ । जसले किसानलाई निकै फाइदा भएको छ ।” खेतबारी जोत्न, दाईँ गर्न र विभिन्न कृषिको कामको लागि गोरु आवश्यक पर्ने भएपनि टूयाक्टर, हाते टूयाक्टरले विस्थापित गरिदिएको प्रमुख ओलीले बताउनु भयो । आधुनिक उपकरणको प्रयोगले कृषि प्रणालीलाई छिटोछरितो र उत्पादनमुखी बनााउन थालेको उहाँको भनाई छ । कम जनशक्तिले थोरै समयमा काम सकिने र आवश्यकता अनुसार जस्तो ठाउमा पनि प्रयोग गर्न सकिने हुँदा हातेट्याक्टर प्रति किसानहरु आकर्षित भएका हुन् । भीमेश्वर नगरपालिका वडा नं. ४ जिलुका ललितबहादुर श्रेष्ठले हाते ट्याक्टरको प्रयोगले कृषि कर्म सहज बनेको बताउनु भयो । उहाँले खेतबारी जोत्ने बेलामा हलो र गोरु खोज्नु पर्ने झन्झटबाट मुक्ति मिल्दा खुशी लागेको बताउनु भयो । स्थानीय सरकारले कृषि उत्पादन बढाउन आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गरेपछि गाउँमा प्रविधिको प्रयोग बढेको उहाँको भनाई छ । उहाँले हाते ट्याक्टरको प्रयोग बढेपनि मर्मत सम्भारको लागि भने समस्या हुने गरेको बताउनु भयो ।
Be the first to comment on "लोप हुँदै हलो र गोरु"