ईश्वर विश्वकर्मा
चरिकोट, साउन २४
ग्रामीण क्षेत्रका घरैपिच्छे विषेश गरी मासु र अण्डाको लागि रैथाने कुखुरा पालन गरिन्थ्यो । घडीको जमाना पूर्व कुखुरालाई नै समयको सूचना दिने ‘घडी चरो’ मानिन्थ्यो । जसले बेलामा बेलामा बासेर मानिसलाई समय बताउने गर्दथ्यो । तर अहिले पहिले जस्तो घरघरमा भाले बासेको सुनिन छाडेको छ । रैथाने कुखुरा पाल्नै छाडिएको छ ।
अहिले ग्रामीण क्षेत्रबाटै स्थानीय जातको कुखुरा लोप भएको छ । छिटो हुर्कने, तौल बढी हुने र धेरै अण्डा दिने उन्नत जातका कुखुरा सबै तिर पाल्न थालेपछि स्थानीय कुखुरा घट्दै गएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख पलट चौधरीले बताउनुभयो । तुलनात्मक रूपमा उन्नत जातका कुखुरा छिटो बढ्छ र धेरै अण्डा पार्छ । तर स्थानीय कुखुरा बढ्न लामो समय लाग्ने, थोरै अण्डा दिने भएपनि धेरै पोषिलो र स्वादिलो हुन्छ । सुत्केरी आमालाई खुराकको रुपमा लोकल कुखुराको मासु खुवाउने प्रचलन रहेकोमा अहिले बोइलर र गिरिराजको मासुले टार्ने गरिन्छ । यसले स्थानीय कुखुराको मासुको जस्तो तागत नदिने आमाहरूको भनाइ छ । अहिले मात्रात्मक पक्षलाई बढी महत्व राख्ने तर गुणात्मक पक्षलाई वास्ता नगर्ने प्रवृत्ति हावी हुनु पनि रैथाने कुखुरा लोप हुनुको मुख्य कारण हो । सर्वत्र उन्नत जातका बोइलर, लेयर्स र गिरिराजको राज चल्ने गरी पाल्न थालेपछि अण्डा र मासु गाउँमा पनि तुलनात्मक रूपमा सस्तो मूल्यमा प्रशस्तै पाउन थालेको छ । रैथाने कुखुरा पाल्दै आएकाहरू पनि उन्नत जातको कुखुरा पालन तर्फ मोडिएका छन् । जसले गर्दा पहिले देखि नै पालिँदै आइएको रैथाने कुखुरा पालन घट्दो क्रममा रहेको केन्द्र निमित्त प्रमुख चौधरीले बताउनुभयो ।
दुम्से, घाँटी खुइले, साकिनी र लुइँचे लगायत स्थानीय जातका कुखुरा पालन व्यवसायिक हुन सकेन । तर उन्नत जातका कुखुरा पालन व्यवसायिक रुपमा फस्टाउँदो छ । किसानहरू उन्नत कुखुरा पालनमा आकर्षित भएका छन् । यसले आम्दानी पनि छिटो र सोचे जस्तो हुने गरेको छ । लोकल कुखुराबाट आम्दानी ढिलो हुने हुँदा किसानहरू यस तर्फ आकर्षित हुन नसकेका हुन् ।
आकारमा सानो हुने लोकल कुखुरा पाल्न सामान्य खोर व्यवस्थापन गरे हुन्छ । आहार पनि उन्नत कुखुरालाई जस्तो आवश्यक पर्दैन । झारपात, अन्न पानी लगायत नै यसको आहारा हो । खोप, औषधोपचार बेलाबेलामा आवश्यक पर्ने हुन्छ तर धेरै मात्रामा चाहिदैन । यसको मासु र अन्डा फरक र आफ्नै स्वादको हुन्छ। त्यसैले अहिले पनि यसका पारखीहरू स्वाद लिन चाहन्छन् । तर पाउनै कठिन हुन्छ । पाए पनि निकै महँगो मूल्य तिर्न तयार हुनुपर्छ ।
अहिले ‘उन्नत कुखुरा च्याउ जस्तै भयो’ भन्दै होटल रेष्टुराँमा लोकल कुखुराको मासुको परिकार खोज्दै आउने ग्राहकहरु बढेका छन् । तर लोकल कुखुरा नपाउने भएपछि उन्नत मै चित्त बुझाउने गरेका छन् । स्थानीय कुखुरा पाल्न कसैले चाहेमा सजिलै पाइदैन । छ्यापछ्याप्ती उन्नत जातले गाउँ देखि बजारमा ओगटेको र त्यसकै स्वादमा भुलिएपछि स्थानीय कुखुराको संरक्षण र संवद्र्धनमा कसैको ध्यान जान सकेको छैन । स्थानीय कुखुरा जोगाउन स्थानीय सरकारले किसानहरुलाई अनुदान र आवश्यक ज्ञान उपलब्ध गराएर प्रोत्साहन गर्न आवश्यक रहेको छ ।
Be the first to comment on "लोप हुँदै लोकल कुखुरा"