चीनसँगको व्यापारका लागि सबैभन्दा छोटो दूरीको व्यापारिक नाका लामाबगर नै हो

डा. दीनेश पौडेल

भूपरिवेष्ठित देश भएकाले छिमेकीसँग जोडिएका नाकाको सही र दीर्घकालीन व्यवस्थापन नेपालको सार्भभौमिकता तथा विकासको लागि महत्त्वपूर्ण हुन्छ । नेपालका आर्थिक र व्यापारिक नाका भारततिर बढी भएका र सिमानासमेत खुला रहेको सन्दर्भमा चीनतिरका नाका पनि खुलाउन, निरन्तरता दिन र व्यवस्थापन गर्न नेपालले प्राथमिकता दिनुपर्छ। नाकाहरु भनेका व्यापारिक कारोवार गर्ने ठाउँमात्रै होइनन् । नाकाहरुले देशको दीर्घकालीन सार्वभौमिकतालाई असर पार्छन् र छिमेकीसँगको सम्बन्ध र शक्ति सन्तुलनमा समेत प्रभाव पार्छ । यसैले दोलखा जिल्लाको लामाबगर नाकालाई चीनसँगको व्यापार तथा पारवहनका लागि मुख्य नाकाको रुपमा तत्काल खुलाई व्यवस्थापन गर्ने प्रक्रिया चलाउनु आवश्यक छ ।

ऐतिहासिकरुपमा औपचारिक र अनौपचारिक ढंगले झन्डै ३०–३५ ठाउँमा नेपाल र चीनबीचका नाकाहरु सञ्चालनमा थिए । विभिन्न कारणले ती नाका प्रयोगविहीन हुँदै गए र हालमा एउटा रसुवागढीमात्रै मुख्य नाकाका रुपमा सञ्चालित छ । देशलाई स्वावलम्वी समृद्धीतर्फ उन्मुख गराउन तथा दीर्घकालीन शक्ति सन्तुलनका लागि कम्तीमा भारततर्फ सञ्चालित संख्या बराबरका नाका चीनतर्फ खोल्नु जरुरी छ । यी नाका हिमालय क्षेत्रकै विकास र प्रवर्धनका लागि पनि आवश्यक छन् । नाका खुलाउने विषयमा भूराजनीतिक शक्तिको प्रभाव पर्ने हुनाले हालको ऐतिहासिक अवसरलाई नेपालले सदुपयोग गर्नसक्नुपर्छ ।

चीनतर्फ नेपालले विकास गर्नुपर्ने सबै महत्त्वपूर्ण नाकामध्ये लामाबगर नाका पर्छ । चीनतर्फ कम्तीमा सातवटा नाका निरन्तररुपमा सञ्चालन गर्न सके भारत निर्भरता घटाउने र चीन हुँदै नेपालको अन्तर्राष्ट्रिय व्यापार सुनिश्चित हुन्छ । काठमाडौं नजिकमा रसुवागढी र तातोपानी नाका सञ्चालित छन् । भूकम्पपछि तातोपानी नाका बन्द छ । यो नाकाको विकल्पका रुपमा लामाबगरलाई मुख्य नाकाका रुपमा स्थापित गराउनुपर्छ । विविध कारणले अन्य नाकामा अवरोध आउँदा काठमाडौं जोड्ने मुख्य नाका नै लामाबगर हुनेछ । लामाबगर नाका सहज छ र यसलाई सञ्चालन गर्नुपर्ने धेरै कारण छन् ।

प्रधानमन्त्री केपी ओलीको सन् २०१५ को चीन भ्रमणमा नेपाल र चीनबीच सातवटा नयाँ नाका विकास गर्ने सहमति भएको थियो । लामाबगर नाका तिनै सातवटा नाकामध्ये एउटा हो । चीनले सहमति जनाइसकेको सन्दर्भमा लामाबगरलाई तत्काल प्राथमिकतामा राखी विकास गर्न कुनै कानुनी वा दुई देशबीचमा कुनै समस्या छैन । नयाँ संरचना निर्माण गर्दै दुवैतिर भौतिक पूर्वाधार तयार गर्ने सहमति तत्काल गर्नु आवश्यक छ ।

लामाबगरबाट चीनतिर प्रवेश गर्ने नाका झन्डै २००० मिटरको उचाइमा पर्छ । नेपाल र चीनतिर नदीका फराकिला खाँेच छन् । नेपालकै सबैभन्दा कम उचाइमा भएको यो नाका वर्षभर नै सहजरुपमा सञ्चालन गर्न सकिन्छ । हिमालय क्षेत्रकै सबैभन्दा सहज नाकाका रुपमा यसलाई विकास गर्न सकिन्छ । यस नाकामा दुवैतर्फ ठूला पहिराहरु तथा भूबनौटका दृष्टिमा जोखिमपूर्ण क्षेत्र पनि देखापरेका छैनन् ।

नेपाल र चीनतर्फ सडकलगायतका पूर्वाधार सिमाना नजिक पुगिसकेका छन् । चीनतर्फ सिमाना नजिकै सडक बनिसकेको छ भने नेपालतर्फ माथिल्लो तामाकोसी जल विद्युत आयोजनासम्म सडक निर्माण भइसकेको र त्यसभन्दा उत्तरतर्फ निर्माणाधीन अवस्थामा छ । अब करिब २५ किलोमिटर सडक निर्माण गर्ने हो भने यो नाका सहजै तत्कालै सञ्चालन गर्न सकिन्छ । सुरुङ बनाउन सके त यो दूरी अझ छोटिन्छ ।

चीनसँगको व्यापारका लागि सबैभन्दा छोटो दूरीको व्यापारिक नाका लामाबगर नै हो । चीनतिरको ठूलो व्यापारिक तथा औद्योगिक सहर सिगात्सेसँग नेपाललाई जोड्न लामाबगर हुँदै तिब्बतको टिङग्रीबाट दूरी सबैभन्दा छोटो पर्छ । सिगात्सेबाट नेपाल आउन तातोपानी र रसुवागढीभन्दा नजिक पर्ने नाका यही हो । राजधानी काठमाडांै तथा विषेशगरी प्रदेश नं १ र २ लाई सहजरुपमा चीन तथा चीन हँुदै अन्य देशको व्यापारमा जोड्न लामाबगर नै उपयुक्त र आर्थिकरुपमा सहज नाका हो ।

भौगोलिक, भूराजनीतिक तथा भौगर्भीक कारणले तातोपानी नाका सहज हुन कठिन छ । कुनै पनि वेला केही भएको खण्डमा वैकल्पिक पूर्वाधार तत्काल निर्माण गर्न सकिँदैन । चीनसँगकोे व्यापारिक क्रियालाप रोक्न्छि र यस्ता तत्कालीन र भावि समस्या समाधान लामाबगर नाकाबाट गर्न सकिन्छ । लामाबगरभन्दा पूर्व संखुवासभासम्म सहजै खोल्न सकिने नाका छैनन् र पूर्वतिरका नाका भारत र चीनको सुरक्षा संवेदनशीलतासँग जोडिन सक्छ । भारतको सिक्किम र चीनको तिब्वततर्फ बढ्दो सैन्य गतिविधिले पूर्वतर्फका नाका राष्ट्रिय नाकाका रुपमा तत्कालै विकास गर्न कठिन हुनसक्छ ।

जनघनत्वको दृष्टिले महत्त्वपूर्ण र भूराजनीतिक रूपमा संवेदनशील दुई नम्बर प्रदेशलाई चीनसँग व्यापारिक, सांस्कृतिक तथा राजनीतिक पहुँच सहज गराउन लामाबगर नाका सबैभन्दा उपयुकत हुन्छ । यसले गर्दा दुई नम्बर प्रदेशलाई तीन नम्बर प्रदेशका पहाडी भूभागसँग सहजै घुलमिल गराइ त्यस क्षेत्रको विकास निर्माणमा ठूलो सफलता हासिल हुन सक्छ ।

चीन र भारतको विहार क्षेत्रमा व्यापारिक सम्पर्क बढाउन पनि सबैभन्दा छोटो दूरीको नाका लामाबगर नै हो । नेपाल र भारतबीच जल मार्गको छलफल भइरहेको सन्दर्भमा लामाबगर नाका नेपाल र भारतको व्यापारलाई नयाँ ढंगले व्यवस्थित गर्नसमेत महत्त्वपूर्ण हुनेछ ।
लामाबगर नाकाको दुवैतिर कम उचाइका तर फराकिला खोच छन् । त्यहाँबाट सहजरुपमा सडकलगायत अन्य पूर्वाधार निर्माण गर्न सकिन्छ । तातोपानी र रसुवागढीको तुलनामा खोचहरु फराकिला छन् र स्थिर छन् । तुलनात्मकरुपमा भौतिक संरचनाहरु निर्माण गर्ने खर्च कम लाग्छ र नेपालमा सडकहरु नदीको किनारै किनार जाने हुनाले स्तर उन्नति गर्न तथा निरन्तरता दिन धेरै सजिलो हुन्छ । रामेछापको मन्थलीदेखि नै तामाकोसीको किनारै किनार सडक सञ्चालन गर्न भौगर्भिक बनोट उपयुक्त भएको कारण यातायात सजिलो हुनेछ ।
चट्टानयुक्त भूबनोट भएका कारण सुरुङ मार्ग निर्माण छोटो र सहज हुन्छ । ठूला पहिरोको जोखिम तातोपानी नाकाको भन्दा ज्यादै न्यून छ । फलस्वरूप, संरचनाहरु निर्माण भइसकेपछि तिनको संरक्षण र सञ्चालन कम खर्चिलो हुनेछ । लामाबगर नाकाका दुवै क्षेत्रहरु जैविक विविधताका दृष्टिले पनि महत्त्वपूर्ण छन् । दुवै क्षेत्रलाई संरक्षित क्षेत्रका रुपमा विकास गरिएको छ । नाका खुलेसँगै पर्यटकीय सम्भावना बढेर जान्छ र नयाँ आर्थिक गतिविधि सुरु हुनेछ ।

यसैले लामाबगर नाका खोल्न र सञ्चालन गर्न एउटा विज्ञ समूह बनाएर नेपाल र चीनतर्फको भूभाग एवं संरचनाको अध्ययन गरेर बृहत् कार्ययोजना निर्माण गरी तत्काल नाका खोल्ने वातावरण तयार गर्न सके नेपालका लागि उपलब्धिमूलक हुनेछ । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा यो नाका खोल्ने विषयलाई ठोस निष्कर्षमा पु¥याउनु आवश्यक छ । नेपालको चीनतिरका नाका व्यवस्थापन देशको सार्वभौमिकता र समृद्धिसँग जोडिएका छन् । दीर्घकालीन सोचका साथ लामाबगर नाका खोल्ने विषय प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य कार्यसूचीमा समावेश होस् । साभार बारखरी अनलाइन

 

Shares

Be the first to comment on "चीनसँगको व्यापारका लागि सबैभन्दा छोटो दूरीको व्यापारिक नाका लामाबगर नै हो"

Leave a comment

Your email address will not be published.


*