लामाबगरमा अनलाइन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता सुरु

चरिकोट(दीस)ः दोलखाको विगु गाउँपालिका वडा नम्बर एक लामाबगरमा अनलाइन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता सुरु गरिएको छ । वडा कार्यालयमा इन्टरनेट र सफ्टवेयरको व्यवस्था गरिएसँगै व्यक्तिगत घटना दर्ताको कार्यलाई अनलाइन प्रणालीमार्फत दर्ता गर्न सुरु गरिएको हो ।
कुमार तामाङको छोरा मिमा थुन्डुको मंगलबार अनलाइनबाट जन्मदर्ता गरेर वडा कार्यालयमा अनलाइन मार्फत व्यक्तिगत घटनादर्ता प्रणाली सुभारम्भ भएको वडाध्यक्ष मेम बहादुर तामाङले जानकारी दिनु भयो । घटना दर्ताका लागि आउने सेवाग्राहीलाई छिटो छरितो र प्रभावकारी सेवा प्रवाह गर्न अनलाइन प्रणाली मार्फत ब्यक्तिगत घटना दर्ता गर्न सुरु गरिएको उहाँको भनाइ छ ।
पालिकाका सात वटा वडाहरुमा अघिल्लो वर्षबाटै यो प्रणाली लागू गरिएको भएपनि वडा नं. १ मा भने यो वर्षदेखि सुरु गरिएको हो । कमजोर इन्टरनेट तथा तयारीको अभावका कारण अघिल्लो वर्ष वडा नम्बर एकमा अनलाइन घटना दर्ता प्रणाली लागु गरिएको थिएन । वडा सचिव दिव्यश्वरी श्रेष्ठले व्यक्तिगत घटना दर्ता कार्यलाई सहज, सरल र प्रभावकारी रुपमा सम्पन्न गर्न अनलाइन प्रणालीको सुरुवात गरिएको बताउनु भयो ।
व्यक्तिगत घटना दर्ता ऐन २०३३ आइसकेपछि मात्र नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली २०३४ सालदेखि शुरु भएको थियो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइँजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाटै गर्ने व्यवस्था सुरु गरेको थियो ।

Shares

Be the first to comment on "लामाबगरमा अनलाइन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता सुरु"

Leave a comment

Your email address will not be published.


*