चरिकोट(दीस)ः कालिञ्चोक गाउँपालिका अन्तर्गत लापिलाङ(बाबरे सडकको कालोपत्रे सुरु भएको छ । सुनखानी–साङ्बा सडकको लापिलाङदेखि बाबरेसम्मको खण्डमा कालोपत्रेको काम सुरु भएको हो ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले सडकको ठेक्का व्यवस्थापन गरिरहेको छ । कार्यालयले सो सडक खण्डको १५ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का लगाएको थियो । वैशाख दोस्रो सातादेखि कालोपत्रेको काम सुरु गरिएको पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । कालिञ्चोक गाउँपालिकाको वडा नम्बर ६ लापिलाङको पाटागाउँस्थित दुधपोखरी पहिरोदेखि कालिञ्चोक गाउँपालिका वडा नम्बर दुई बाबरेको लप्सीबोटेसम्म १५ किलोमिटर खण्डमा कालोपत्रेको काम भइरहेको कार्यालयको भनाई रहेको छ । हाल बाबरेको लप्सीबोटेबाट कालोपत्रेको काम सुरु गरी लामीडाँडाको खुरुले खोलासम्म झन्डै तीन किलोमिटर कालोपत्रे सम्पन्न भइसकेको छ । १५ किलोमिटर सडकमध्ये सिमसार क्षेत्र, कमजोर भूगोल भएको ठाउँमा ढलानसमेत को काम भएको छ । पूर्वाधार विकास कार्यालयले दुई वर्षअघि उक्त सडकको वाल, नालीसहित कालोपत्रे गर्न ४४ करोडको लागतमा ठेक्का आह्वान गरेकोमा ठेकेदार कम्पनी केएस सुनकोशी जेभीले झन्डै १७ करोड घटेर २७ करोड लागतमा ठेक्का सम्झौता गरेको थियो ।
निर्माण कम्पनीका प्रतिनिधि कुशल खड्काले कालोपत्रेका लागि सम्पूर्ण उपकरण र निर्माण सामग्री पर्याप्त मात्रामा तयार गरेकाले मौसमको साथ र कुनै काबुबाहिरको परिस्थिति सिर्जना नभए जेठ मसान्तभित्र कालोपत्रेको काम सकिने दाबी गर्नु भएको छ । विगत वर्षका बाढी पहिरोलगायतका प्राकृतिक प्रकोप र बीचमा सरकारले क्रसर उद्योग बन्द गर्दा यसअघि नै सम्पन्न हुने उक्त आयोजनामा केही ढिलाइ भएको उहाँको भनाई रहेको छ ।
ठेक्काको तोकिएको समयमा काम पूरा नभएपछि एक पटक असार मसान्तसम्मका लागि म्याद थप भएको छ । कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले यो सडक कालिञ्चोक गाउँपालिकाको लाइफलाइन सडक भएको बताउनु भएको छ । गाउँपालिका आफैंले पनि २० किलोमिटर विभिन्न ठाउँमा ढलान गरेको र यो सडक कालोपत्रे भएपछि कालिञ्चोक गाउँपालिकाभित्र आवतजावतमा सहज हुने उहाँको विश्वास रहेको छ । आक्स्फाल्ट कंक्रिट प्रविधिको कालोपत्रे भइरहेको उक्त सडक सम्पन्न भएपछि लापिलाङ, लामीडाँडा, बाबरे, कालिञ्चोक हुँदै खोपाचागुको साङ्बा बजार, बिगु गुम्बा, चिलंखा र आलम्पुका यात्रुलाई आवतजावत गर्न सहज हुने छ ।
Be the first to comment on "लापिलाङ–बाबरे सडक कालोपत्रे हुँदै"