लप्चीमा पुग्दैनन् उम्मेद्वार

ईश्वर बिश्वकर्मा÷प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारहरु गाउँदेखि बजारसम्म तीव्र रुपमा चुनावी प्रचार गरिरहेका छन् । सो क्रममा उनीहरुले जनअपेक्षा बुझ्ने र आफूलाई मत दिएमा विकासको मार्ग प्रशस्त गरिदिने प्रतिवद्धता जनाइरहेका छन् । तर, विकासमा पछि रहेको चिनसँग सीमा जोडिएको विगु गाउँपालिका १ लप्ची गाउँमा अहिलेसम्म कुनै उम्मेदवारले पाइला टेकेका छैनन् । गाउँमा उम्मेदवाहरु नआउँदा चुनाव आएको महशुस नभएको स्थानीयहरु बताउँछन् । गाउँ आएका उम्मेदवारले मत माग्दा त्यसको सट्टामा विकास मागौँला भनी पर्खेर बसेका लप्ची गाउँका मतदाताहरु अहिलेसम्म एक जना पनि उम्मेदवार गाउँ नआएपछि आफूहरु निराश भएको बताउनुहुन्छ । नेता कार्यकर्ता सहित उम्मेदवारहरु गाडीमा झन्डा र हात हल्लाउँदै सडक पनि आएका छैनन् । अघिपछि एक जना नेता नआउने गाउँमा चुनावको बेला नेता, कार्यकर्ता सहित उम्मेदवार आउने पर्खाइमा रहेपनि अहिले सम्म कोही नआउँदा आफ्ना कुराहरु सुनाउने सपना पूरा हुन नसकेको लप्चीका जेष्ठ नागरिक दावा लमु शेर्पाले बताउनुभयो । पहिलेका चुनावमा नेताहरु नआएपनि यो पटक त आउँछन् कि भन्ने आशा लप्चिवासीको भए पनि अहिले सम्म कोही नआउँदा आफूहरुलाई दुःख लागेको लप्चीवासी ८३ वर्षीय शेर्पाले बताउनु भयो । भौगोलिक विकटताले जेलिएको लप्चिीमा विकासको न्यूनतम पूर्वाधार समेत नहुँदा गाउँका सबैले कष्टकर जीवन बिताइरहेका छन् । यहाँ सडक, शिक्षा, स्वास्थ्य, विद्युत, सञ्चार सुविधा उपलब्ध छैन । जिल्लाको अन्य ठाउँमा विकासले कोल्टे फेर्दै गरे पनि लप्चिवासीले भने न्यूनतम आवश्यकता समेत पूरा गर्न कष्ट गर्नु परेको स्थानीय छिरिङ डोमा शेर्पाको गुनासो छ । उहाँका अनुसार गाउँमा विद्यालय नभएपछि शिक्षाका लागि यहाका बालबालिका सहर गएका छन् ।
शेर्पाले यी सबै दुःखको कुरा सुनाउने चाहना भएपनि चुनावमा समेत उम्मेदवार गाउँमा नआएपछि आफूहरुलाई अर्कै देशको नागरिक भएको महशुस हुन थालेको बताउनुभयो । उहाँका अनुसार गाउँको सबैको आम्दानी स्रोत याक र चौरीपालन हो । तर उत्पादित छुर्पी, घिउ र बाच्छा बेच्न नपाउँदा भोकै रहनु पर्ने अवस्था छ । चीनको फलाक बजारमा लगेर बिक्री गर्ने गरेको भएपनि चिनले नाका बन्द गरिदिएपछि आफूहरुको आम्दानी नै गुमेको ६० वर्षीय फुजुङ शेर्पाले बताउनुभयो । लप्चीमा ६१ जना मतदाता रहेका छन् ।

Shares

Be the first to comment on "लप्चीमा पुग्दैनन् उम्मेद्वार"

Leave a comment

Your email address will not be published.


*