रोल्वालिङ क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि

चरिकोट(दीस)ः रोल्वालिङ पदयात्रामार्ग हँुदै च्चोरोल्पा भ्रमण गर्ने आन्तरिक पर्यटकको संख्या बढेको पाइएको छ । विगत दुई महिनाको अवधिमा स्वदेशी पर्यटकको संख्या बढेको पाइएको हो ।
गत असोज र कार्तिक महिनाको अवधिमा च्छोरोल्पा भ्रमणमा एक हजार चारसय आन्तरिक पर्यटक घुम्न गएको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्ककमा छ । विगतका वर्ष हरुमा च्छोरोल्पा घुम्न जानेमा बाह्य पर्यटकहरुको संख्या उल्लेख्य थियो भने नेपालीहरु कम मात्र सो पदयात्रामा जाने गर्दथे । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले समेत विगतमा विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेकोमा हाल भने आन्तरिक पर्यटकको पनि तथ्याङ्क राख्ने गरेको छ । युवाहरुको बाहुल्यता रहेको आन्तरिक पर्यटकहरु च्छोरोल्पा मात्र नभई दूध कुण्डको समेत यात्रामा जाने गरेको पाईएको छ ।
मुख्य सिजनमा रोल्वालिङ क्षेत्रमा एक हजार बढि विदेशी पर्यटक पुगीसकेका छन् । यसैगरी दक्षिण एसियाली मुलकबाट पनि २७ जना पदयात्री तथा तेस्रो मूलुकबाट एकहजार ५२ जना विदेशी पर्यटकले रोल्वालिङ क्षेत्र पुगेको आयोजनाको तथ्याङ्कमा छ । आन्तरिक पर्यटकलाई संरक्षण क्षेत्रले प्रति व्यक्ति सय रुपैया शुल्क लिने गरेको छ । पहिलोपटक आन्तरिक पर्यटकबाट पनि संरक्षण क्षेत्रले एक लाख आम्दानी गरेको आयोजनाले बताएको छ । कतिपय स्वदेशी पर्यटक ईन्ट्री नगरी गएकाले यकिन तथ्याङ्क भने निस्कन सकेको छैन । असोज र कार्तिक महिनामा १ हजार ७ सय ७९ जना पुरुष र २ सय १६ जना महिला पदयात्री च्छोरोल्ल्पा घुम्न पुगेका छन् । युवापुस्तामा पदयात्रामा निस्कने चाह बढेकाले हिमाली क्षेत्रका पदमार्ग आन्तरिक पर्यटकको चहलपहल बढेको पदयात्रा मार्गका स्थानीयहरुको भनाई रहेको छ  । कार्तिक र असोजमा देशभरबाट युवा च्छोरोल्पा र दुधकुण्ड पुग्ने गरेका छन् । विगतको तुलनामा निकै धेरै संख्यामा स्वदेशी पर्यटक पुगेपछि बेदिङका होटललाई बास व्यवस्थापनमा धौ धौ परेको होटल व्यवसायी दावाछिरिङ शेर्पाले बताउनु भयो ।
च्छोरोल्पा पदयात्रा मार्गमा ना,बेदिङ, सुमुर्चे लगायतका क्षेत्रमा हाल २२ वटा होटल संचालनमा रहेका छन् । विगु गाउँपालिकाको छ्योछ्योतसम्म सडकमार्ग रहेको छ । त्यसपछि ३ दिनको पैदलमार्फत रोल्वालिङ क्षेत्रमा रहेको ४ हजार ५ सय ८० मिटर उचाईमा रहेको हिमताल च्छोरोल्पा पुग्न सकिन्छ । सो क्षेत्र घुम्ने स्वदेशी पर्यटकले प्रतिव्यक्ति ७ देखि १५ हजारसम्म खर्च गर्ने गरेको स्थानीय होटल व्यवसायी हरुको अनुभव छ । आन्तरिक पर्यटक च्छोरोल्पा हिमताल हेर्न र त्यो भन्दा केहि माथि रहेको दुधकुण्डसम्म जाने गरेका छन् । विदेशी पर्यटक भने रोल्वालिङ क्षेत्रमा एक सातादेखि १५ दिनसम्म घुम्ने गर्दछन् । टासिलाप्चोको बाटो बनेकाले हालसम्म ११ वटा विदेशी समूह ५ हजार ७ सय ५५ मिटर उचाई पार गरेर खुम्बु क्षेत्र गएको स्थानीयहरुको भनाई रहेको छ ।

Shares

Be the first to comment on "रोल्वालिङ क्षेत्रमा आन्तरिक पर्यटकको संख्यामा बृद्धि"

Leave a comment

Your email address will not be published.


*