दीक्षण समाचार÷ चरीकोट, – दोलखाको सदरमुकाम चरीकोटमा आइतबार ‘राष्ट्र सेवक दोलखा २०७८’ पुस्तक विमोचन गरिएको छ । दोलखा कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको पुस्तकको केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी टेकराज निरौलाले विमोचन गर्नुभयो । जिल्लाका सरकारी कार्यालयहरुले प्रवाह गर्ने सेवाको विषयमा केन्द्रीत लेख सहित साहित्यिक रचनाहरु समावेश गरिएको उक्त पुस्तक अध्ययन गरेमा जिल्लाका सरकारी कार्यालयबाट प्राप्त हुने सेवाको विषयमा सबैले सहजै जान्ने मौका पाउने छन् । पुस्तकमा ३० वटा लेख रचनाहरु रहेको छ । केन्द्रका अध्यक्ष एवं भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले विभिन्न जिल्लाबाट आई दोलखामा कार्यरत राष्ट्र सेवकहरुको अनुभूति पुस्ताकारमा प्रकाशित गरिएको र कार्यालयहरुको सेवा प्रवाहमा प्रभावकारीता थपिने उद्धेश्य लिइएको बताउनुभयो । ‘गत वर्ष पुस्तकमार्फत दोलखालाई चिनाउने प्रयास गरेका थियौँ । यो वर्ष जिल्लामा कार्यरत राष्ट्रसेवकको अनुभव, राष्ट्रसेवक र नागरिकबीचको सम्बन्ध तथा शासकीय व्यवस्था विषयमा लेखहरु संग्रहित गरी पुस्तक प्रकाशन गरेका होँ ।’ उहाँले भन्नुभयो । भदौमा पर्ने निजामति दिवसमा पुस्तक विमोचन गर्ने उद्धेश्यका साथ प्रक्रिया थालिएको भएपनि सम्भव नभएपछि निर्धारित मितीभन्दा पाँच महिना पछि पुस्तक विमोचन गरिएको उहाँले सुनाउनुभयो । ‘त्यो बेला कोरोना महामारी लगायतका कारण पुस्तक विमोचन गर्न सकिएन । अहिले त्यो अवसर मिलेको छ ।’ आगामी अंकहरु सुधार गरी परिमार्जित गरी प्रकाशन गरिने उहाँको भनाई थियो ।
टेकराज निरौला सेवानिवृत
दोलखाका प्रमुख जिल्ला अधिकारी टेकराज निरौला सेवानिवृत हुनुभएको छ । ३७ वर्ष ५ महिना सरकारी सेवामा सक्रिय हुनुभएका निरौलाको ५८ वर्ष पुगेसँगै सेवानिवृत्त हुनुभएको हो । उहाँलाई दोलखा कर्मचारी मिलन केन्द्रले आइतबार सम्मान तथा बिदाई गरेको छ । सो क्रममा निरौलाले ५ महिना दोलखाको प्रमुख जिल्ला अधिकारीको भूमिका निर्वाहको क्रममा सफलता पूर्वक विभिन्न काम सम्पन्न गरिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ’केही योजनाहरु अघि बढाउने चाहना भएपनि छोटो अवघिमा सम्पन्न गर्न नसकिने भएकोले ती योजना अघि बढाइन । तर जति काम सुरु गरेको थिएँ । ती कामले पूर्णता पाएको छ ।‘ आफु २०४१ साल असोज ८ गते सरकारी सेवामा प्रवेश गरेको सुनाउनुहुँदै निरौलाले सन्तृष्टि र खुशीका साथ सेवाग्राहीको काममा पूर्ण सक्रिय भएको बताउनुभयो । विगत स्मरण गर्नुहुँदै उहाँले भन्नुभयो’ सेवामा सक्रिय रहँदा कसैँसग बावविवाद गर्न, चर्को र नमिठो बोल्न परेन, कसैको मन दुखाउन परेको थिएन । सहकर्मीको सहयोग र आफ्नो क्षमता र दक्षताका कारण जागिर अवधी सजिलो र सहजताका साथ टुङ्गिएको छ ।” उहाँले थप्नुभयो“ कुनै विवाद नभई खुशीका साथ सरकारी सेवाबाट बिदा लिएको छु ।‘ ५८ वर्षको उमेरमा सरकारी सेवाबाट अवकाश पाएपछि फेरी अन्य काममा १८ वर्षे युवा झैँ सक्रिय हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ”अवकाशपछि प्रायः जसोको जीवन आराम गरेरै बित्छ तर म भने सक्रिय हुने छ। उमेर ५८ भएपनि काममा भने १८ वर्षे जस्तै सक्रिय हुने छु ।‘
Be the first to comment on "‘राष्ट्र सेवक दोलखा २०७८’ पुस्तककाे विमोचन"