काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार प्रस्थान गरेकी छन् ।
म्यानमार जाने क्रममा राष्ट्रपति भण्डारी पहिलो पटक शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छन् ।
यसअघि सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति आज विहान भने हेलिकोप्टरमार्फत विमानस्थल पुगेकी हुन् । यद्यपी राष्ट्रपति निवासले सडक मार्ग नभएर राष्ट्रपति किन हेलिकोप्टरमार्फत विमानस्थल गइन् भन्नेबारे केही बताएको छैन ।
राष्ट्रपति भण्डारीले म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा असोज २९ देखि कात्तिक ३ सम्म त्यहाँको राजकीय भ्रमण गर्नेछिन्।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। राष्ट्रपति भण्डारीसँग म्यान्मारका स्टेट काउन्सिलर आङ सान सुचीले भेट गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। म्यान्मारमा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मुलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ ।
यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन्। राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।
म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन्
Be the first to comment on "राष्ट्रपति म्यानमार प्रस्थान, हेलिकोप्टर चढेर शीतलनिवासबाट सिधै एयरपोर्टमा"