रामकोटमा आमाको माया छात्रावासको नयाँ भवन बन्दै

दीक्षण समाचार
चरिकोट, मंसिर २४
दोलखाको भीमेश्वर नगरपालिका–६ रामकोटमा आमाको माया छात्रावासको लागि नयाँ भवन निर्माण हुने भएको छ । सेवा इन्टरनेशनल नेपालको विशेष सहयोग एवं हिन्दू स्वयंसेवक संघ नेपालको संयोजनमा जनजाति कल्याण आश्रमद्धारा सञ्चालित सो छात्रावासको नयाँ भवन निर्माण हुने भएको हो । सो भवनको भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतले शुक्रबार एक कार्यक्रमबीच शीलान्यास गर्नुभयो । शीलान्यास समारोहमा उहाँले छात्रावास तथा बालगृह सञ्चालनको लागि स्थानीय सरकारको दायित्व र जिम्मेवारी महत्वपूर्ण हुने भएकोले सोही अनुरुप भीमेश्वर नगरपालिकाको तर्फबाट दायित्व पूरा गर्ने प्रविबद्धता जनाउनुभयो । उहाँले छात्रावासको भवन निर्माण गर्नु चूनौतीको विषय रहेको र निर्माणपछि दीगो व्यवस्थापन गर्नु अर्को मूख्य पक्ष रहेको सुनाउँदै यसका लागि सरोकारवाला सबैको सक्रियता आवश्यक रहेको बताउनुभयो । विदेशीहरुको सहयोगमा बनेको गौरीशंकर बालगृह सरकारले जिम्मा लिएपछि थप व्यवस्थित हुनुपर्नेमा त्यसको विपरीत लथालिङ्ग अवस्था भएको छ । जिल्ला बाल संगठनले जिम्मेवारी पाएपनि त्यसको उपस्थिति बाल गृहमा राम्रो नभएको उहाँले आरोप लगाउनुभयो । नगरभित्र रहेका छात्रावास आफ्नो ढंगले चलिरहेको अवस्थामा नगरले शिक्षा शाखाको व्यवस्थापनमा अनुगमन गरिरहेको नगर उपप्रमुख बस्नेतले बताउनुभयो । उहाँले छात्रावासहरुको अनुगमन गरिरहेको र त्यसक्रममा छात्रावासमा देखिएको कमीकमजोरी सुधार्न तथा व्यवस्थापन प्रभावकारी बनाउन नगरले योजना बनाएको सुनाउनुभयो ।
दुई करोड लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छात्रावास भवन साँढे तीन तल्लाको हुने छ । गरिब तथा अतिविपन्न परिवारका विद्यार्थीसहित ५० जनासम्म बस्न मिल्ने गरी निर्माण हुन लागेको छात्रावासमा गाँसबास, स्वास्थ्य उपचारको व्यवस्थाका साथै असल आचरण निर्माण तथा संस्कार र संस्कृतिको जगेर्नाको लागि शिक्षा दिइने छ । छात्रावासमा बसेर अध्ययन गर्ने विद्यार्थीलाई असल संस्कार दिई देश समृद्धिका लागि योगदान गर्न सक्ने योग्य नागरिक उत्पादन गर्ने छात्रावासको उद्धेश्य रहेको छ ।
छात्रावासका अध्यक्ष कृष्णबहादुर गौतमले छात्रावास सञ्चालनका लागि स्थानीय बासिन्दा र स्थानीय सरकारको सहयोगको अपेक्षा रहेको सुनाउनुभयो । उहाँले छात्रावास जिल्लाकै सम्पति भएकोले यसको संरक्षण र सञ्चालनमा सबैले चासो दिनुपर्ने बताउनुभयो । नेपालमा संस्कार बिनाको शिक्षाले बैदेशिक रोजगारी मात्र खोज्ने अवस्था आईरहेकोले यसलाई मध्यनजर गर्दै संस्कारसहितको शिक्षा दिने र स्वदेशमैँ सम्मानित र खुशी जीवन जिउन सिकाउने उद्धेश्यका साथ छात्रावास सञ्चालनमा ल्याइएको उहाँले सुनाउनुभयो । सञ्चालनमा आएको ६ वर्षपछि छात्रावासको सुविधासम्पन्न नयाँ भवन निर्माण सुरु हुँदा आफूहरु हर्षित भएको छात्रावासका प्रमुख गणेशकुमार प्रजाले बताउनुभयो । भवन निर्माणको लागि सबैजनाले तन, मन, वचन र धनले सहयोग गर्न समेत उहाँले अनुरोध गर्नुभयो । पूरानो भवनमा रहेको छात्रावासमा हाल चरिकोटका विभिन्न विद्यालयमा अध्ययन गर्ने १६ जना विद्यार्थी बसिरहेका छन् ।

Shares

Be the first to comment on "रामकोटमा आमाको माया छात्रावासको नयाँ भवन बन्दै"

Leave a comment

Your email address will not be published.


*