चरिकोट (दीस) –दोलखाका तीन व्यवसायिक संस्थाहरूले राति ११ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन् । उनीहरूले सोमबार जिल्ला प्रशासन कार्यालय दोलखामा ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।
दोलखा उद्योग वाणिज्य संघ, दोलखा चेम्बर अफ कमर्स र दोलखा होटल तथा पर्यटन व्यवसायी संघले संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै राति ११ बजेसम्म होटल व्यवसाय निर्वाध सञ्चालन गर्न पाउनुपर्ने माग गरेको दोलखा चेम्बर अफ कमर्सका अध्यक्ष रुद्रजंग बुढाथोकीले जानकारी दिनुभयो ।
प्रशासनले राति नौ बजेपछि होटलमा प्रवेश गरी होटल बन्द गराउने, बत्ती निभाउन लगाउने जस्ता कार्य गर्ने गरेकोले आन्तरिक र बाह्य पर्यटकलाई खाना खानसमेत समस्या भएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । यस्ता कार्यबाट होटल व्यवसायमै नकारात्मक असर पर्ने भएकोले राति ११ बजेसम्म निर्वाध रूपमा होटल व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाइएको दोलखा होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी समक्ष बुझाइएको हो ।
Be the first to comment on "राति ११ बजेसम्म दोलखाका होटल व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग"