राजकुमार विश्वकपमा व्यस्त हुँदा साउदीद्वारा खतरनाक हमला जारी

एजेन्सी । साउदी अरबले बिहीबार योपटकको विश्वकपमा आफ्नो पहिलो खेल खेलेको छ भने उता ४ हजार किलोमिटर पर साउदीकै नेतृत्वमा सेनाले यमनमाथि हालसम्मकै ठूलो हमला गरेको छ ।

यता ट्वीटर लगायत सामाजिक संजालमा भने राष्ट्रपति पुटिनले रुसको पहिलो गोलपछि राजकुमार मोहोम्मद बिन सलमानसँग हात मिलाउन खोज्दा उनले जिस्काउँदै हात नदिएकाबारे निकै ठूलो चर्चा भएको हो । तर राजकुमार मस्कोमा खेल हेरेर हाँसठट्टा गरिरहँदा सेनाले भने २०१५ मा युद्ध सु्रु भएदेखिकै भयानक आक्रमण गरेका हुन् ।

यस आक्रामक भीडन्तमा कैयौं मानिसको मृत्यु हुने र भयङ्कर मानव संकटको स्थिति उत्पन्न हुन सक्नेमा अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् । साउदीका सेनाहरुले बुधबारदेखि नै यमनको विमानस्थल नजिक पोर्टसिटीलाई लक्षित गरिरहेका थिए जहाँ अहिले इरानी सेनाको मद्दतमा हुथी विद्रोहीहरु हाबी रहेको विश्वास गरिन्छ । वास्तवमा त्यसै क्षेत्रबाट यमनमा ८० प्रतिशत भन्दा बढी खाद्य लगायत औषधीजन्य सामग्री र इन्धन भित्रिने हुँदा त्यस स्थान वरिपरि बस्ने २ लाख मानिस बाहेक यिनै वस्तुहरुमा निर्भर अन्य लाखौँ मानिसहरु पनि उत्तिकै जोखिममा रहेको बताइएको हो ।

यसबारेमा संयुक्त राष्ट्र संघका वरिष्ठ मानवतावादी अधिकारी लिस ग्रान्डेले भने,“सो स्थान त्यो देशको जीवन रेखा र एकमात्र बाँच्ने आधार हो । त्यसैले त्यहाँ थोरै क्षति हुँदा पनि भयानक परिणाम भोग्नुपर्ने हुन्छ ।”
तीन वर्षदेखि जारी युद्धका कारण यमनलाई पश्चिम एसियाकै सबैभन्दा गरिब देश मानिन्छ ।

लडाईँ सुरु भएदेखि त्यहाँ २० लाख भन्दा बढी मानिसहरु विस्थापित भएका छन् भने हैजाको प्रकोपका कारण लाखौँ मानिसहरु प्रभावित भएका छन् । त्यस्तै अहिले नै ८० लाख भन्दा बढी भोकमरीको जाखिममा रहेकाले पनि उक्त सहरमाथि हमला गर्नु कुनैपनि आधारमा उचित नहुने बताइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

Shares

Be the first to comment on "राजकुमार विश्वकपमा व्यस्त हुँदा साउदीद्वारा खतरनाक हमला जारी"

Leave a comment

Your email address will not be published.


*