युवा विहीन बन्दै गाउँ

नवराज,चरिकोट÷दोलखाका गाउँहरु अहिले युवा विहीन बन्न थालेका छन् । रोजगारीको अभावका कारण युवाहरु विदेस तथा शहर पस्ने क्रम बढेसँगै गाउँहरु युवा विहिन बन्न थालेका हुन् ।
दोलखाका विभिन्न गाउँ मध्ये शेर्पा वस्तिका रुपमा चर्चित खार्ताल गाउँ पनि एक हो । गाउँमा रोजगारीका अवसर नभएकै कारण अहिले युवाहरुले गाउँछोड्ने क्रम बढेको विगु गाउँपालिका खार्तालका ६१ वर्षिय लाक्पा शेर्पाले बताउनु भयो  । गाउँमा रोजगारीको अवसर भए बुढेस काल लागेका आमा बाबुलाई छोडेर विदेश जाने अथवा सहर पस्ने रहर कसैलाई नहुने ६१ वर्षिय शेर्पाको भनाई छ ।
खार्तालका युवाहरु अहिले कोही विदेश त कोही सहर पसेका छन् । विवाहित श्रीमतीहरु पनि छोराछोरी बोर्डिङ पढाउन भन्दै सहरमानै बस्ने गरेका छन् । गाउँका अधिकाँश घरहरुमा ताला लागेको खार्तालका अर्का स्थानीय च्याङलोमा शेर्पाले बताउनु भयो । “खार्तालमा घरहरु त बाक्लै देखिन्छन् तर मानिसहरु छैनन् ।” उहाँले भन्नु भयो “मानिस भएका घरहरुमा पनि बुढापाका मात्रै छन् । ”
भुकम्प पछि गाउँमा नयाँ चिटिक्क परेका विद्यालय भवनहरु बनेका छन्् । तर विद्यार्थीको संख्या भने घटिरहेकोछ । विदेश जानेहरुका श्रीमतीहरु छोराछोरी पढाउन भन्दै शहर छिरेका छन् । गाउँमा काम गर्ने युवाको संख्या घटेको कारण खेतबारी बाँझै राख्नु पर्ने अवस्था आउन थालेको खार्तालकै अर्का स्थानीय च्यामार शेर्पाले बताउनु भयो ।
विशेष गरी शेर्पाहरुको बसोवास भएको खार्ताल गाउँमा असी घर रहेको मा आधा भन्दा कममा मात्र मानिस रहेको शेर्पाको भनाई छ । पहिले चौँरी पालनलाई आफ्नो मुख्य पेशा बनाएका खार्तालका शेर्पाहरुले अहिले चौँँरी पाल्न छाडेका छन् । पहिले घरै पिच्छे जस्तो चाँँैरी पालन हुन्थ्यो तर अहिले मुस्कीलले दुईचार गोठ चौँरी छन् ।
कच्चि सडक गाउँको माझबाट गएको छ । भुकम्प पछि नयाँ घरहरु बनेका छन् । केन्द्रीय विद्युत प्रसारण लाईन गाउँमा पुगेको छ । सदरमुकाम सँगको दुरी छोटिएकोछ  । गाउँमा समान ल्याउन सजिलो भएको छ । तर रोजगारी नभएका कारण युवाहरुले गाउँ छोडिरहेका छन् ।
“सबै कुराको असुविधा हुँदा गाउँमा टन्नै मनिस थिए । अब सुविधा आयो गाउँमा मान्छे भएनन् खै के भयो भयो ?” च्यामार शेर्पाले भन्नु भयो , “ रोजगरी नभएर युवा विदेश भाषिए गाउँ रित्तियो । सरकारले रोजगारीको ब्यवस्था मिलाए गाउँ पहिले जस्तै हुने थियो ।”
बाटो पक्कि बनाउने तथा स्थानीय खोलाहरुमा पुल हाल्ने अनि जुन ठाउँमा जे उत्पादन हुन्छ त्यो सरकारले नै खरिद गरिदिने ब्यवस्था गरिदिए रोजगारीका अवसर बढ्ने शेर्पाको अनुमान छ । बढी उच्चाईको ठाउँ भएकोले खार्तालमा कोदो , गहुँ तथा आलु मात्र खेती हुन्छ । त्यसैको भरमा जीवन गुजारा नचल्ने स्थानीयहरुको भनाई छ ।
खार्तालमात्र होइन खार्ताल निकटको स्याँखु गाउँको पनि हालत उस्तै छ । गाउँका प्रायः युवा रोजगारीको खोजिमा विदेश तथा देशकै शहरी क्षेत्रतर्फ लागेको स्याँखुका स्थानीयले बताउनु भयो  ।

Shares

Be the first to comment on "युवा विहीन बन्दै गाउँ"

Leave a comment

Your email address will not be published.


*