दोलखामा म्यादी प्रहरी बन्न १५ सय ४७ जनाको इच्छा

ईश्वर बिश्वकर्मा
चरिकोट, चैत्र १२
जिल्ला प्रहरी कार्यालय दोलखामा ६ दिनसम्म म्यादी प्रहरीको लागि आवेदन बुझाउन मानिसहरूको भीड लाग्यो । आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुलाएसँगै आवेदन दर्ता गराउन कार्यालयमा बिहानदेखि बेलुकासम्मको नागरिकहरूको उपस्थिति रह्यो । उनीहरूमध्ये केहीको रहर थियो, भने केहीको बेरोजगारी समस्याले बाध्यता थियो । चैत्र ६ देखि ११ गतेसम्म समय निर्धारण गरी योग्यता पुगेका नागरिकलाई आवेदन दिन आह्वान गर्दै प्रहरीले जारी गरेको सूचनाको आधारमा सहरसँगै दुर्गम क्षेत्रका समेत १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नागरिकहरू आएर फाराम बुझाए । उनीहरूमध्ये साधारण लेखपढ गर्न सक्नेहरुदेखि उच्च शिक्षा अध्ययन गरेकाहरू पनि थिए । जिल्लामा बेरोजगारको अवस्थालाई यसले थप उजागर गरेको छ । जिल्लामा म्यादी प्रहरी भर्ती गर्न ७ सय ९५ जनाको लागि भर्ना खुलाइएकामा १ हजार ५ सय ४७ जनाले आवेदन दर्ता गराएका छन् । यो संख्या आवेदन माग गरिएभन्दा दोब्बर हो । म्यादीमा भर्ती हुन पुरुषको आवेदन बढी परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो । आवेदकहरू मध्ये अधिकांश युवा रहेका छन् । उनीहरूमध्ये योग्यता पुगेकालाई २२ गतेभित्र छनौट गरी तालिम दिइने छ । नागरिकहरूले सीमित दिनको लागि भएपनि आकर्षक तलब पाउने र देशको पनि सेवा गर्न पाइने भएपछि म्यादी प्रहरीमा भर्ती हुने इच्छा देखाएका हुन् । शुक्रबार आवेदन बुझाइसकेपछि दिनेश सेन्चुरीले आफू शारीरिक रुपमा तन्दुरुस्त र चलाख रहेकोले म्यादी प्रहरीमा शतप्रतिशत छनौट हुने दाबी गर्दै भन्नुभयो “यस अघि आर्मीमा भर्ती हुन पनि खोजेँ । तर सम्भव भएन । त्यसपछि अन्य काममा व्यस्त रहेपनि सन्तुष्ट हुन सकेको थिइन । अहिले म्यादीमा भर्ना खुल्यो, त्यसैले आर्मीमा भर्ती हुन गरेका अभ्यास र अनुभवका आधारमा म अवश्य छनौट सूचीमा पर्ने छु ।” उहाँजस्तै काम गरिहेका तर सन्तुष्ट हुन नसेका युवाहरू पनि म्यादीमा आकर्षित भएका छन्, त्यो भन्दा बढी आवेदन दिनेहरूमा बेरोजगार भई घरमै बसेका नागरिकहरू रहेका छन् । म्यादी प्रहरीका लागि आवेदन दिएका मध्ये योग्यता पुगेकालाई २२ गतेभित्र छनौट गरी तालिम दिएर निर्वाचन लक्षित गतिविधि तथा निर्वाचन सुरक्षामा गरी जम्मा ४० दिन खटाइने छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश÷उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ । मापदण्ड अनुसार उनीहरुलाई प्रतिव्यक्ति एक मुष्ट ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक र पोसाकबापत ६ हजार, रासनबापत एकमुष्ट ७ हजार २ सय र एक पटकका लागि सवारी खर्चबापत प्रतिव्यक्ति एक हजारका दरले सुविधा पाउने छन् । 

Shares

Be the first to comment on "दोलखामा म्यादी प्रहरी बन्न १५ सय ४७ जनाको इच्छा"

Leave a comment

Your email address will not be published.


*