मेलुङ गाउँपालिका दोलखाकै दुर्गम

धुव्र आर्चाय

दोलखा, २७ साउन
मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठलाई अघिल्लो हप्ता आफ्नै कार्यकक्षमा भेटिए । त्यहाँ पुग्दा कर्मचारीहरु जत्तिकै दैनिक काममा व्यष्त थिए । ३ दिन अघि चरिकोटबाट गएका अध्यक्ष श्रेष्ठ गाउँपालिका पुग्न तामाकोसी गाउँपालिकाको जफेमै आफ्नो साधन थन्क्याएर ३ घण्टाको ठाडो उकालो हिडेर पुगेका हुन् ।
धेरैजसो जनप्रतिनिधिहरु प्रायः दैनिक घरबाटै वा चरिकोटमा बसेरै भएपछि कार्यालय आउजाऊ गर्छन् तर श्रेष्ठ भने कार्यालय पुगेपछि कम्तिमा एक हप्ता ढुक्कले बस्ने गर्छन् । मेलुङ गाउँपालिकाको मालुखोला सित्तली पक्कि सडक छाडेर कुनै पनि सडकमा सवारी चल्दैनन् । गाउँपालिका भित्रका सडकमा गाडी चल्न नसक्ने हुँदा आम सर्वसाधारण जस्तै अध्यक्ष पनि गाउँपालिका कार्यालय पुग्न ठाडो उकालो हिड्न बाध्य भएका हन् ।
मेलुङको गाउँपालिका कार्यालय भेड्पूको पैयामा छ । यो ठाउँ सबैलाई अपाएक भए पनि आफू जनप्रतिनिधि हुनु अगावै छनौट गरेकाले सबैले सास्ती भोग्नु परेको अध्यक्ष श्रेष्ठ बताउँछन् । गाउँपालिका वरपर बस्ने र चिया खाजा खाने ठाउँ समेत छैन । आफू कति दुर्गममा छु भन्ने कुरा यहाँ आइपुग्नेले मात्र महसुस गर्ने अध्यक्ष श्रेष्ठले बताए ।
मेलुङ पुरानो दोलखा–रामेछापको सदरमुकाम भएको ठाउँ समेत हो । जिल्लाको दक्षिणी भेगलाई सुगम नै मानिन्छ । तर अहिले सडककै कारण यो जिल्लाकै सबैभन्दा दुर्गम जस्तो भएको छ । जहाँ मोबाइलको नेटवर्क समेत चल्दैन र इन्टरनेटको समेत सुविधा छैन ।
मेलुङ गाउँपालिकामा साना ठूला ४२ वटा सडक छन् । तर गत आर्थिक वर्षमा मात्र जनप्रतिनिधिहरुले थप २३ वटा सडकका नयाँ ट्रयाक खोले । पुरानाको सडक चौडाइ पनि भए । तर अधिकाँश सडकहरु अहिले ठूला ठूला खाल्डा, भूक्षय भएका अवस्थामा हुँदा ट्याक्टर समेत नचल्ने अवस्थामा छन् ।
मेलुङ गाउँपालिकाले शनिबार असल शासन समन्वय समिति दोलखाको समन्वयमा सित्तलीमा सार्वजनिक सुनुवाइ समेत ग¥यो । गत आर्थिक वर्षमा भएका पूर्वाधार र सामाजिक विकासका बारेमा समिक्षा समेत भए । अधिकाँशले सडककै बारेमा जिज्ञासा उठाए ।
अध्यक्ष श्रेष्ठले भने दुर्गम गाउँ भए तापनि यसलाई अवसरको रुपमा लिएर आउँदो वर्षात्मा रणनैतिक सडकमा १२ महिना एम्बुलेन्स जस्ता साना गाडी चल्न सक्ने सडक बनाउँने दाबी गरे । “अब जथाभावी बजेट बाँडिन्न, चाँडै डिपीआर बनाएर योजनाबद्ध रुपमा काम हुन्छ” उनले भने “अब नयाँ ट्रयाक खुल्दैनन्, भएकालाई व्यवस्थित गरिन्छ ।”
गाउँपालिकाले आगामी वर्ष मुख्य योजनाको रुपमा सडकलाई नै प्राथमिकतामा राखेको छ । सडक नै विकास पूर्वाधारको पनि पूर्वाधार भएकाले सडक प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । “सबैतिरबाट सडककै माग छ, अधिकाँश सडकको ट्रयाक समेत खोलिसकेका छन्” अध्यक्ष श्रेष्ठले भने “अब हिउँद वर्षा नै निर्वाध रुपमा चल्न सक्ने गरी सडक स्तरोन्नती गर्नमा हाम्रो ध्यान छ ।” सडकको विस्तृत अध्ययनपछि हरेक वर्ष सडकको वर्गीकरण गरेर स्तरोन्नतीको काम गर्ने गाउँपालिको योजना छ ।
गाउँपालिकाले सडकको डीपीआर तयार गर्नका लागि २० लाख विनियोजन गरेको छ । चाँडै डिपीआर गरेर ३० लाखभन्दा बढीका योजना ठेक्काबाट र त्यसभन्दा साना उपभोक्ता समितिकार्फत काम हुने उनले बताए । प्राविधिक कर्मचारी र प्रशासनका कर्मचारी अभावमा गत आर्थिक वर्षको ६ महिनासम्म कामै गर्न नसकेकाले ६ करोड बजेट फ्रिज समेत भएको जानकारी दिए ।
गाउँपालिकाले सित्तली–मेलुङ–भैंसे सडकलाई मुख्य सडकको रुपमा छनौट गरेको छ । ३ वटा खण्ड सडकलाई मुख्य सडकको रुपमा छनौट गरी बजेट समेत विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार ३ वटा सडकलाई १ करोड १० लाखका दरले कुल ३ करोड ३० लाख विनियोजन भएको छ । सित्तली–मेलुङ, मेलुङ–दुधुलेभञ्ज्याङ, मेलुङ–बुद्धचोक भञ्ज्याङ ढाँडेखोला सडक खण्ड उच्च प्राथमिकतामा परेका छन् । यि सडक अर्को वर्षदेखि १२ महिना चल्ने बनाउँने दाबी गरे । त्यसतै मालुखोला–भ्याकुरे–चरंगे सडकलाई वैकल्पिक राजमार्गको रुपमा विकास गरिने उनले बताए ।
गाउँपालिकाले अन्य एक दर्जन सडकलाई पनि आफ्नो योजनामा समेटेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ८ करोडभन्दा बढी सडकलाई मात्र छुट्याएको छ । डीपीआर तयारीपछि तत्काल सबै सडकको काम सुरु हुँदा प्राथमिकतामा परेका बजेट नघटेपनि अन्य साना सडकको भने बजेट घटबढ हुन सक्ने उनले बताए ।
गाउँपालिकाले सडक क्षेत्रभित्र पर्ने जग्गाहरुको पछि समस्या पर्ने हुँदा तत्काल कित्ताकाट गर्ने योजना बनाएको छ । मेलुङको सडक मापदण्ड मुख्य सडकको सडक केन्द्रबाट दायाँबायाँ १०÷१० मिटर र अन्यको ८ मिटर कायम गरेको छ । कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई विशेष ध्यानमा राखेर गाउँपालिकाले काम गर्ने र ५ वर्षभित्र देशकै नमूना गाउँपालिका बनाउने उनले दाबी गरे ।
मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि कुल ४० करोड १९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकण अनुदान ११ करोड ९६ लाख, सशर्त अनुदान १५ कोड ४७ लाख, राजश्व बाँडफाँड ५ करोड ३९ लाख ७४ हजार रहेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७७ लाख ९२ हजार, सशर्त अनुदान १ करोड ३९ लाख रहेको छ । गाउँपालिकाको आफ्नो आन्तरिक आम्दानी १० लाख र गत वर्षको बचत ५ करोड समेत आफ्नो बजेटमा समाबेस गरेको छ ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिका दोलखाकै दुर्गम"

Leave a comment

Your email address will not be published.


*