इश्वर बिश्वकर्मा
चरिकोट, फागुन २
दोलखाको मेलुङ गाउँपालिकामा अनलाइन प्रणाली मार्फत् व्यक्तिगत घटना दर्ता सूरुवात गरिएको छ । आइतबार वडा नं. ६ र ७ बाट उक्त कार्यको सूरुवात गरिएको गाउँपालिकाले जनाएको छ । वडा नं. ७ मा नरमाया श्रेष्ठको मृत्युदर्ता अनलाइनबाट गरेर अनलाईन व्यक्तिगत घटना दर्ता प्रणालीको सूरुवात गरिएको छ । मृत्यु दर्ता गरिएसगैँ मृतकका परिवारलाई ३५ दिनभित्र मृत्युदर्ता गर्दा गाउँपालिकाले दिदैँ आएको ५ हजार रुपैयाँ सहित मृत्युदर्ताको प्रमाणपत्र वितरण गरिएको छ । घटना दर्ताका लागि आउने सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्दै घटना दर्तालाई व्यवस्थित गर्ने उद्धेश्यका साथ अनलाइन घटना दर्ता सुरुवात गरिएको गाउँपालिकाको पञ्जिकरण तथा सामाजिक सुरक्षा शाखा प्रमुख नविन्द्र रिमालले बताए । उनका अनुसार १ साताभित्र सबै वडामा अनलाइन घटना दर्ता प्रणाली विस्तार गरी सेवा प्रवाह गरिने छ । सबै वडामा इन्टरनेट र सफ्टवेयरको व्यवस्थापन गरिएसगैँ अनलाइन सूचना प्रणालीमार्फत् व्यक्तिगत घटना दर्ता कार्यको सुरुवात गरिएको उनले बताए । व्यक्तिगत घटना दर्ता हातले लेखेर ढड्डामा उतारेर सेवाग्राहीलाई प्रमाणपत्र दिइने गरिएको थियो । तर प्रविधीको विस्तार र उपलब्धता भएसगैँ प्रणालीमैँ दर्ता गरेर प्रिन्ट गरी व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र वितरण गरिने भएकोले सेवाग्राही र कर्मचारी दुबैलाई सहज हुने भएको उनले बताए । साथै अनलाइन प्रणालीमा दर्ता भएका कोही कसैको व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र हराए वा च्यातिएमा ढड्डा र पानापाना खोजेर बस्नु नपर्ने र प्रतिलिपी सहजै दिन मिल्छ । व्यक्तिगत घटना दर्ता कार्यलाई सहज, सरल र प्रभावकारी रुपमा सम्पादन वा सम्पन्न गर्न आधुनिक प्रविधीको प्रयोगमा जोड दिइएको उनले बताए । उनले भने “हातले लेखेर काम गर्ने समय गयो । अब प्रविधीको उच्चतम प्रयोग गरि कार्यलाई सहज बनाउन जोड दिनुपर्छ ।” गाउँपालिकाकाको सबै वडाका कर्मचारी तथा जनप्रतिनिधीहरुलाई व्यक्तिगत अनलाइन घटना दर्ता प्रणालीको बारेमा यसअघि पटकपटक तालिम दिइएको थियो । व्यक्तिगत घटना दर्ता ऐन २०३३ आइसकेपछि मात्र नेपालमा व्यक्तिगत घटना दर्ता प्रणाली २०३४ सालदेखि शुरु भएको थियो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाटै भर्ने व्यवस्था सुरु गरेको थियो ।
Be the first to comment on "मेलुङ गाउँपालिकामा अब व्यक्तिगत घटना दर्ता अनलाइनबाटै"