मेलुङ गाउँपालिकाबाट १ करोडको सुन्तला बिक्री

दीक्षण समाचार /चरिकोट, – व्यवसायिक सुन्तला खेती हुँदै आएको मेलुङ गाउँपालिकाकामा यो वर्ष सुन्तला बिक्रीबाट एक करोड रुपैयाँ भित्रिएको छ। पालिकाको वडा नं. १ को पवटी, वडा नं. ५ को डाँडाखर्क, वडा नं. ६ को निगासी लगायतका क्षेत्रमा उत्पादन भएका सुन्तला जिल्लाभित्रै र जिल्ला बाहिर बिक्री भएको हो । गाउँपालिकाका कृषि शाखाका प्रमुख विष्णु जिरेलका अनुसार सुन्तला उत्पादन हुने क्षेत्रहरूमा सडक सञ्जाल जोडिएकोले बगैँचामै आएर धेरैले सुन्तला खरीद गरी लगेका थिए । भने कतिपय किसानले गाडीमा ढुवानी गरी बजारमा लगेर बिक्री गरेका थिए । उहाँले भन्नुभयो “गत वर्ष पनि एक करोड हाराहारीमा सुन्तला बिक्री भएको तथ्याङ्क संकलन गरिएको थियो । यो वर्ष पनि पोहोरको वर्ष झैँ एक करोड बराबरको सुन्तला उत्पादन निर्यात भएको आँकलन गरिएको छ।” मेलुङमा उत्पादित सुन्तला जिल्ला सदरमुकाम चरिकोट, जिरी, सिङ्गटी लगायतका जिल्लाको मुख्य व्यापारिक केन्द्रमा बिक्री भएको छ । जिल्ला बाहिर रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर लगायतको जिल्लामा सुन्तला निर्यात भएको कृषि शाखा प्रमुख जिरेलले बताउनुभयो । यहाँको सुन्तला अर्ग्यानिक र स्वादिलो हुने थाहा पाएपछि पछिल्ला वर्षहरूमा व्यापारीहरूले बगैँचामा नै आएर किसानलाई उचित मूल्य दिएर ठूलो परिमाणको सुन्तला खरीद गरी लैजान थालेका छन् । यसले पालिकाका किसानहरू सुन्तला खेतीमा सफल भएको जनाउँछ । उत्पादित सुन्तलाले बजार र उचित मूल्य पाउँदा किसानहरू खुशी भएका छन् । तर त्यो खुशी भित्र ठूलो पीडा पनि छ । औँसा किराको प्रकोपका कारण सुन्तला उत्पादनमा वर्षेनी ह्रास ल्याइरहेको छ । यसको दिगो रुपमा नियन्त्रण हुन नसक्दा किसानहरूमा चिन्ता र पीडा पर्न थालेको छ । यसले गर्दा सुन्तला खेतीमा पहिलोपटक लाग्न चाहनेहरूको सोच बद्लिन थालेको छ । भने सुन्तला उत्पादन बढ्नुको सट्टा वर्षेनी घट्न थालेपछि व्यवसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई पनि हात झिक्नुपर्ने स्थिति पैदा हुन थालेको छ । पालिकाका कृषि शाखा प्रमुख जिरेलका अनुसार सुन्तलाको फल भित्र औँसा किराले फूल पार्ने गर्दछ । पछि फल पनि बढ्दै जाने र किराको जीवन चक्र विकास सगैँ सुन्तला पहेँलो देखिने र झर्ने गर्दछ । यो किराको प्रकोप ठुलो बगैँचामा बढी देखा पर्न गरेको उहाँले सुनाउनुभयो । यसले वर्षेनी सुन्तला उत्पादनमा गिरावट ल्याइरहेको छ । उहाँले भन्नुभयो “यी यस्ता समस्याका बीच यो वर्ष सुन्तला बिक्री गर्दा गाउँपालिकाका किसानहरूले लाखौँ भित्र्याएका छन् । ”उहाँका अनुसार सुन्तलामा औँसा किराको प्रकोप बढ्दै गएको प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको छ । गएको वर्ष “गाउँपालिकाले सुन्तला बचाऊ अभियान” अन्तर्गत पवटीमा एक हप्तासम्म किरा नियन्त्रणको उपाय स्वरुप विषादी प्रयोग गर्न भनी किसानहरुलाई जानकारी गराइएको थियो । यद्यपि विषादी प्रयोगपछि औँसा किराबाट मुक्त भई सुन्तला उत्पादन बढेपनि अग्र्यानिक नहुने र बजार नपाउने भन्दै किसानहरूले नै विरोध गरेपछि औँसा नियन्त्रणको लागि विषादी प्रयोग कार्यक्रम रद्ध गरिएको कृषि शाखा प्रमुख जिरेलले सुनाउनुभयो । तर विषादीको विकल्पमा अन्य प्राकृतिक उपाय पनि अपनाउन सकिने उहाँले बताउनुभयो । तर त्यसमा किसानले नै बढी चासो र सक्रियता देखाउन आवश्यक रहेको छ । वडा नं. १ का वडा सदस्य महेन्द्र उप्रेतीले आफ्नो वडाबाट वर्षेनी धेरै मात्रामा सुन्तला उत्पादन हुने गरेको र पवटी सुन्तला उत्पादनमा जिल्लामै पहिलो भएको दाबी गर्नुभयो । उहाँले पवटीमा उत्पादित सुन्तलाले देशभर पहिचान बनाएको र पालिका किसानले मनग्य आम्दानी गर्न सफल भएको सुनाउनुभयो । तर केही वर्ष यता औँसा किराको प्रकोप देखिन थालेको सुनाउँदैहुँदै पालिकाले वर्षेनी बजेट विनियोजन गर्ने गरेको भएपनि त्यसको काम हुन नसकेको गुनासो गर्नु भयो । उहाँले गएको वर्षको तुलनामा यो वर्ष भने औँसा किरोका प्रकोप अलि कम देखिएको र सुन्तला उत्पादनमा वृद्धि भएको दाबी गर्नुभयो । पहिले सुन्तला डोकोमा बोकेर बजार लैजानुपर्ने अवस्था थियो । तर अहिले सडकको पहुँच विस्तार भएसँगै सुन्तला बिक्रीका लागि सहज भएको उहाँले बताउनुभयो । उहाँले सुन्तलामा रोग किरा नियन्त्रणका साथै उत्पादित सुन्तला बेमौसममा बेच्नका लागि उचित भण्डारणको व्यवस्था भएमा किसानलाई थप सहज र आम्दानी बढ्ने बताउनुभयो । मेलुङ गाउँपालिकाको पवटी, निगासी, डाँडाखर्कसँगै जिल्लाको सुनखानी, गैरीमुदी, जिलु लगायतका क्षेत्र सुन्तला उत्पादनको लागि उर्भर भूमि मानिन्छ । यो मध्ये पवटीमा धेरै मात्रामा सुन्तला उत्पादन हुँदै आएको छ ।
 

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाबाट १ करोडको सुन्तला बिक्री"

Leave a comment

Your email address will not be published.


*