मेलुङ गाउँपालिकाद्धारा चरिकोटमा उद्यमशीलता विकास तालिम आयोजना

SAMSUNG CSC

दीक्षण समाचार
चरिकोट, पुस १६

दोलखाको मेलुङ गाउँपालिकाले तीन दिने उद्यमशीलता विकास तालिम आयोजना गरेको छ । दलित समुदायको आर्थिक रूपान्तरणको लागि उद्यमशील विकास कार्यक्रम अन्तर्गत बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा आयोजित तालिम शुक्रबारदेखि जिल्ला सदरमुकाम चरिकोटमा सुरु भएको हो । गाउँपालिका  अध्यक्ष नरबहादुर श्रेष्ठले ब्यानर वाचन गरी तालिम उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले दलित समुदायले निरन्तरता दिदैँ आएको पेशालाई आधुनिक र व्यवसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले विदेशी उत्पादनको आयात रोक्न स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने जोड दिनुभयो ।
औपचारिक शिक्षाबाट वञ्चित हुँदा दलित समुदायले आफ्नो समुदायको हकअधिकारको निम्ति आवाज बुलन्द पार्न नसक्ने भन्दै सबैले आफ्ना सन्तानलाई शिक्षा दिनुपर्ने उहाँले सुनाउनुभयो । समाजमा छुवाछुत र विभेद भएको खण्डमा प्रहरीलाई उजुरी दिन समेत अनुरोध गर्नुभयो ।

वडा नं. ३ का वडाध्यक्ष एवं पालिका प्रवक्ता हिरा थोकरले जिल्लामा आयोजना हुने तालिम निष्प्रभावी र उपलब्धि शून्य देखिएको भन्दै मेलुङ गाउँपालिकाले आयोजना गरेको तालिमलाई भने उपयोगी र उपलब्धिमूलक बनाइनुपर्ने बताउनुभयो । उहाँले तालिमलाई तालिमको रुपमा मात्र नलिई यसबाट सिकेका कुरालाई उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले पनि जातीय विभेद कहालीलाग्दो रहेको उल्लेख गर्नुहुँदै संविधान र ऐन कानूनमा निर्मुल भएपनि व्यवहारमा अझै हट्न नसकेकोले ऐन कानुनको पूरा कार्यान्वयन हुनुपर्ने सुनाउनुभयो । सामाजिक, सांस्कृतिक, राजनीतिक सबै पक्षमा हकअधिकार सुनिश्चितताको लागि दलित समुदाय आर्थिक र शैक्षिक रुपमा मजबुत हुन जरुरी रहेको उहाँले बताउनुभयो । सामाजिक रूपान्तरणको अर्थ राजनीतिमा एउटा व्यक्तिले मात्र टिको लगाएर मात्र होइन । यसको अर्थ नीतिगत रुपमा समुदायको रूपान्तरण हुनुपर्छ भन्ने हो । प्रतिनिधिको मात्र होइन सिंगो समुदायको रूपान्तरण हुन आवश्यक छ । प्रत्येक वडामा दलित महिला सदस्यलाई कोटा सुरक्षित गरिरहँदा त्यसले अधिकारको लडाइँमा कति सहयोग पुग्यो भन्ने तर्फ ध्यान जानुपर्ने उहाँले सुनाउनुभयो । दलित समुदाय आर्थिक, शैक्षिक रुपमा सबल भएमा अधिकारको लडाइँ गरिरहनै पर्दैन । बाध्य भएर शासकहरुले स्वत अधिकार दिनेछन् । पुरै समुदाय शसक्त नहुने तर दुईचार जना मात्र अधिकारको लागि लड्दा त्यसको कुनै औचित्य नहुने उहाँको तर्क थियो । दलित समुदाय आर्थिक रुपमा सबल नभई निदाएर बस्दा अझ १ सय वर्ष पछि पर्ने उहाँको तर्क थियो । दलित समुदायको उत्थानको निम्ति मेलुङ गाउँपालिका प्रतिबद्ध भएर काम गरिरहेको सुनाउनुहुदै उत्थानशील र रूपान्तरणको अभियान अन्तर्गत तालिमको आयोजना गरिएको उहाँले सुनाउनुभयो । 

 गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत महेन्द्र विश्वकर्माले मानव जीवनस्तर उकास्नका लागि आर्थिक क्रियाकलापलाई व्यवस्थित र व्यवसायिक बनाउनुपर्ने हुन्छ । यसका लागि आवश्यक सीप, क्षमता, ज्ञान र योजना हुनुपर्छ । सोही सीप क्षमता र योजना निर्माणका लागि तालिमको आयोजना गरिएको तालिम गाउँपालिकालाई आर्थिक समृद्धिको सफलताका लागि कोशेढुङगा साबित हुने बताउनुभयो । आर्थिक रुपमा दबिएको र सामाजिक रुपमा पछि पारिएको दलित समुदायलाई उकास्न सकिएमा मेलुङ गाउँपालिका उदाहरणीय बन्ने उहाँले सुनाउनुभयो ।

जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईँले सहकारी र उद्यमको सम्बन्ध दरिलो र बलियो रहेको सुनाउनुभयो । उहाँले सहभागीहरूलाई तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गरी आत्मनिर्भर बन्न अनुरोध गर्नुभयो । मेलुङ गाउँपालिकाभित्रका दलित समुदायका छनोटमा परेका उद्यमी तथा उद्यमी बन्न इच्छुक व्यक्तिको सहभागिता रहेको तालिममा अर्जुन गहतराज, ओम तामाङ लगायतले प्रशिक्षण दिनुहुने छ । तालिम उद्घाटन कार्यक्रममा वडा सदस्यहरू लक्ष्मी विश्वकर्मा, मुना विश्वकर्मा, मेनुका नेपाली र पालिकाका कर्मचारी अर्जुन दाहाल, सहजकर्ता सुदीप रसाइली लगायतको सहभागिता रहेको थियो ।

Shares

Be the first to comment on "मेलुङ गाउँपालिकाद्धारा चरिकोटमा उद्यमशीलता विकास तालिम आयोजना"

Leave a comment

Your email address will not be published.


*