मेलुङका सडकको डीपीआर हुने

दोलखा,
मेलुङ गाउँपालिका भित्रको सडकका विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुने भएको छ । गाउँपालिका भित्रको सडकको विस्तृत अध्ययन गरी त्यसैका आधारमा सडक निर्माण गर्न लागेको हो । मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रममा व्यवस्था गरेर बजेट समेत विनियोजन गरेको छ ।
गाउँपालिकाले आगामी वर्ष मुख्य योजनाको रुपमा सडकलाई नै प्राथमिकतामा राखेको छ । सडक नै विकास पूर्वाधारको पनि पूर्वाधार भएकाले सडक प्राथमिकतामा परेको गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए । “सबैतिरबाट सडककै माग छ, अधिकाँश सडकको ट्रयाक समेत खोलिसकेका छन्” अध्यक्ष श्रेष्ठले भने “अब हिउँद वर्षा नै निर्वाध रुपमा चल्न सक्ने गरी सडक स्तरोन्नती गर्नमा हाम्रो ध्यान छ ।” सडकको विस्तृत अध्ययनपछि हरेक वर्ष सडकको वर्गीकरण गरेर स्तरोन्नतीको काम गर्ने गाउँपालिको योजना छ ।
गाउँपालिकाले सडकको डीपीआर तयार गर्नका लागि २० लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । गाउँपालिकाले अब विकास कामलाई एक दिन पनि ढिला नगरी सुरु गर्ने योजनामा छ । अहिले बजेटमाथि छलफल चलिरहेकाले बजेट पास हुने वित्तिकै डीपीआरको काम सुरु हुने उनले जानकारी दिए । जति सक्यो चाँडो डीपीआरको काम पूरा गरेर सडकको काम गर्ने योजना छ ।
गाउँपालिकाले सित्तली मेलुङ भैंसे सडकलाई मुख्य सडकको रुपमा छनौट गरेको छ । ३ वटा खण्ड सडकलाई मुख्य सडकको रुपमा छनौट गरी बजेट समेत विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष श्रेष्ठका अनुसार ३ वटा सडकलाई १ करोड १० लाखका दरले कुल ३ करोड ३० लाख विनियोजन भएको छ । सित्तली–मेलुङ, मेलुङ–दुधुलेभञ्ज्याङ, मेलुङ–बुद्धचोक भञ्ज्याङ ढाँडेखोला सडक खण्ड उच्च प्राथमिकतामा परेका छन् ।
त्यसैगरी रातोपाटी–भ्याकुरे–चरङ्गे सडक खण्डका लागि ८० लाख विनियोजन गरेको छ । त्यसैगरी अन्य ६ सडकलाई पनि ५० लाखका दरले ३ करोड विनियोजन गरेको छ । मालुखोला–गोलेगाउँ कोइरालाबोट सडक, मेलुङ–मिल्ती खोला, पौवा–तीनपिप्ले सडक, देउराली चैत्यघाट सडक, चौतारापाखा–आँगेटार–मालुखोला सडक, नयाँपुल–डाँडाखर्क सडक र सिम्टे–थालडाँडा सडक पनि प्राथमिकतामा परेका सडक हुन् ।
गाउँपालिकाले अन्य एक दर्जन सडकलाई पनि आफ्नो योजनामा समेटेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि ८ करोडभन्दा बढी सडकलाई मात्र छुट्याएको छ । डीपीआर तयारीपछि तत्काल सबै सडकको काम सुरु हुँदा प्राथमिकतामा परेका बजेट नघटेपनि अन्य साना सडकको भने बजेट घटबढ हुन सक्ने उनले बताए ।
गाउँपालिकाले सडक क्षेत्रभित्र पर्ने जग्गाहरुको पछि समस्या पर्ने हुँदा तत्काल कित्ताकाट गर्ने योजना बनाएको छ । मेलुङको सडक मापदण्ड मुख्य सडकको सडक केन्द्रबाट दायाँबायाँ १०÷१० मिटर र अन्यको ८ मिटर कायम गरेको छ । गाउँपालिकाले “हाम्रो सडक, राम्रो सडक” भन्ने नारा बनाएर हरेक वडाबाट गाउँपालिका केन्द्रसम्म पुग्नका लागि १२ महिना चल्ने सडक तयार गर्न लागेको हो । मेलुङ गाउँपालिका भित्रका सडकहरु अहिले वर्षा लागेसँगै सबै बन्द हुन थालेका छन् ।
मेलुङ गाउँपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि कुल ४० करोड १९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानिकण अनुदान ११ करोड ९६ लाख, सशर्त अनुदान १५ कोड ४७ लाख, राजश्व बाँडफाँड ५ करोड ३९ लाख ७४ हजार रहेको छ । त्यसैगरी प्रदेश सरकारबाट प्राप्त हुने समानिकरण अनुदान ७७ लाख ९२ हजार, सशर्त अनुदान १ करोड ३९ लाख रहेको छ । गाउँपालिकाको आफ्नो आन्तरिक आम्दानी १० लाख र गत वर्षको बचत ५ करोड समेत आफ्नो बजेटमा समाबेस गरेको छ ।

Shares

Be the first to comment on "मेलुङका सडकको डीपीआर हुने"

Leave a comment

Your email address will not be published.


*