मालपोत दोलखा पनि अब अनलाइन सेवा

दोलखा, १९ भदौ
मालपोत कार्यालय दोलखाले अनलाइन सेवा सुरु गरेको छ । सेवाग्राहीको फोटो, औंठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गरिने गरी मालपोत कार्यालय दोलखाले सोमबारबाट मालपोतसम्वन्धी अनलाईन सेवा सुरु गरेको हो ।
दोलखाको मालपोत कार्यालयमा सोमबार ११ बजेतिर भेटिएका बैतेश्वर गाउँपालिका–३, मिर्गेका आदित्य तामाङ डिजिटल सेवा लिने पहिलो सेवाग्राही बने । पहिलो डिजिटल सेवा पाएकोमा उनी निकै खुशी र उत्साहित देखिएका थिए । कार्यालयले सोमबारबाट सुरु गरेको अनलाईन सेवाको पहिलो सेवाग्राही बन्न पुगेका तामाङले आधुनिक प्रविधिबाट प्रिन्ट गरिएको लालपूर्जा पाउने पहिलो सेवाग्राही बन्न पाएकोमा खुशी लागेको प्रतिकृया दिएका छन् । अनलाईन सेवाको विश्वसनियता र निरन्तरता प्रति शंका गर्दै सेवाग्राही तामाङले भने, ‘आधुनिक प्रविधिको प्रयोग गरेर सेवा प्रदान गर्नु सुखद कुरा हो ।’
मालपोत कार्यालय, चरिकोटले सुरु गरेको अनलाईन सेवाको पहिलो सेवाग्राही बैत्यश्वर गाउँपालिका–३, मिर्गेका आदित्य तामाङलाई जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले लालपूर्जा हस्तान्तरण गरे । अनलाईन सेवाको शुभारम्भ गर्न दोलखा आएका भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आचार्यले मालपोत कार्यालयलाई विस्तार गरी स्थानीय तहमा हस्तान्तरण गर्ने पूर्वाधारको रुपमा अनलाईन सेवा सुरु गरिएको उल्लेख गर्दैै सामान्य त्रुटी आउन सक्ने भए पनि विश्वसनियतामा प्रश्न उठ्ने ठाउँ नरहने प्रतिवद्धता जनाएका छन् । महानिर्देशक आचार्यले विद्युत र इन्टरनेटको समस्या लामो समय रहने अवस्थामा परम्परागत तरिकाबाट समेत सेवा दिन सकिने बताए ।
अनलाईन सेवामा भौतिक फोटो नचाहिने भएको हुँदा सेवाग्राहीको फोटो अनलाईन खिचिने, औंठाछाप पनि डिजिटल हुने र हस्ताक्षर पनि डिजिटल नै गरिने व्यवस्था गरिएको छ । दोलखा मालपोत कार्यालयमा लालपूर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्ता लगाएतका सेवाको लागि दैनिक डेढ सयको हाराहारीमा सेवाग्राही आउने गरेको र अनलाईन सेवाले त्यस कामलाई चुस्त र विश्वसनिय बनाउने मालपोत कार्यालयका सूचना अधिकारी अर्जुन पोखरेल बताउँछन् । अनलाईन सेवाबाट काम गर्दा केहि ढिला पक्कै हुनेछ तर काम भने विश्वसनिय हुन्छ शाखा अधिकृत पोखरेलले भने ।
नेपालको ७७ जिल्लामध्ये ३० औ जिल्लाको रुपमा दोलखा मालपोत कार्यालयले अनलाईन सेवा सुरु गरेको र यसको लागि केहि कर्मचारीले बिशेष प्रशिक्षण समेत लिएको कार्यालयका नायव सुब्बा मुरारी दुलालले बताए ।
अनलाईन सेवा सुरु भएपछि केहि प्राविधिक कर्मचारी भने आवश्यक हुने दुलाल बताउँछन् । मालपोत अधिकृत गोविन्दप्रसाद अधिकारीको सभापतित्वमा भएको अनलाईन सेवा शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, प्रमुख जिल्ला अधिकारी सागरमणी पाठक लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

Shares

Be the first to comment on "मालपोत दोलखा पनि अब अनलाइन सेवा"

Leave a comment

Your email address will not be published.


*