माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए ।त्यस्तै, आजको बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ । एमालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो । यसैगरी, वैशाख ७ गते नेपालसहित चार र थप २३ सांसदलाई एमालेले स्पष्टीकरण सोधेको थियो । वैशाख १६ गते पनि तीनजना सांसदलाई स्पष्टीकरण सोधिएको थियो । आजको बैठकले नेपालसहित चार नेताको कारबाही फिर्ता गरेको हो । यसले उत्कर्षमा पुगेको एमाले विवाद समाधानको दिशातिर अघि बढेको बताइएको छ ।

Shares

Be the first to comment on "माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमालेको निर्णय"

Leave a comment

Your email address will not be published.


*