ईश्वर विश्वकर्मा
चरिकोट, असार २३
दोलखाको सदरमुकाम चरिकोटमा बुधबारदेखि पाँच दिने डल कुसन बनाउने तालिम सुरु भएको छ । महिलाहरूलाई सीप सिकाइ आत्मनिर्भर बनाउने उद्देश्यले भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा उज्यालो भविष्य संस्थाले सो तालिमको आयोजना गरेको हो । हिंसा प्रभावित महिला सहित ३० जनाको सहभागिता रहेको तालिममा संगीता सुनेलले प्रशिक्षण दिइरहनुभएको छ ।
तालिमको औपचारिक उद्घाटन भने बिहीबार गरिएको छ । सो सन्दर्भमा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले चुलोचौकोमा मात्र सीमित हुने महिलाहरूलाई सीप सिकाउँदै आयआर्जन र रोजगारीमा जोड्न नगरको प्रयास जारी रहेको बताउनुभयो । आयआर्जनतर्फ महिलाहरू अग्रसर भएमा हिंसा निवारण र न्यूनीकरणमा समेत सहयोग पुग्ने भएकोले महिलाले आयआर्जनका लागि सीप सिकेर उद्यमी बन्न आवश्यक रहेको उहाँले सुनाउनुभयो । उहाँले तालिम उपलब्धीमूलक रहेको उल्लेख गर्नुहुँदै तालिमबाट प्रशिक्षित भई प्राप्त सीप र ज्ञानको उपयोग गरी डलको उत्पादन बढाउन सहभागीहरूलाई अनुरोध गर्नुभयो । उत्पादित सामाग्रीको बजारीकरणको जिम्मा स्थानीय सरकारको रहने समेत सुनाउनुभयो ।
उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतले महिलाहरूले व्यवसायिक उद्यमी बनाई उनीहरूको आयआर्जन वृद्धिको उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । संस्थाले स्थानीय सरकार र विभिन्न सङ्घसंस्थासँगको साझेदारीमा महिला तथा बालबालिका लक्षित कार्यक्रमलाई व्यापक बनाइने बताउँदै त्यस्ता कार्यक्रमले लक्षित वर्गलाई लाभ मिल्ने र दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग मिल्ने बताउनुभयो । संस्थाले सीप सिकाउन तालिम मात्र नभई उत्पादित सामग्रीहरूको बिक्रीमा समेत सहयोग गर्ने जनाएको छ । कार्यक्रममा आवाज नेपालका अध्यक्ष सिर्जना कार्की, भीमेश्वर नगरपालिका, महिला तथा बालबालिका शाखाका अधिकृत मङ्गला मानन्धर लगायतको सहभागिता रहेको थियो । तालिम आवाज नेपाल दोलखाको कार्यालय भवनमा सञ्चालित छ ।
Be the first to comment on "महिलालाई आत्मनिर्भर बनाउन तालिम"